काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपालको सीमा मिचेको विषयमा सरकार जानकार रहेको बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले सरकारलाई भारतले सीमा मिचेर बाटो बनाएको विषय जानकारी भएको स्पष्ट पारे। सांसदहरुले सरकारलाई थाहा नभएको भनी प्रश्न उठाएपछि मन्त्री ज्ञवालीले यसबारे जानकार भएको र भारत सरकारसँग कुटनीतिक तवरबाट सम्वाद सुरु भएको बताए।
'सीमा मिचेर सडक बनाएको बारेमा थाह नहुने भन्ने प्रश्नै भएन। पटक पटक वार्ताका निम्ति मिति प्रस्ताव गरेका हौं। राजनीतिक र कुटनीतिक रुपमा पहल भएका हुन्। गएको फ्रेबरीमा बैठक बस्ने कुरा भएको थियो। तर कोरोना महामारीले त्यसपछि पहल भएन,' उनले भने।
ज्ञवालीले कांग्रेसलाई सीमा मिचेको बिषयमा राजनीति नगर्न पनि अपिल गरेका छन्। उनले यो राष्ट्रिय विषय भएको भन्दै कुनै दल विषेशले राजनीतिककण गर्ने विषय नभएको बताए। उनले साँझा विषय भएकाले साँझा ढंगले समाधान गर्नुपर्नेमा जोड दिए।