नयाँ दिल्ली : भारतमा आइतवार सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन्। एकै दिन भारतमा कोरोना संक्रमितको संख्या ६.९ प्रतिशतले बढेको हो।
आइतवार ४ हजार ३ सय ८ नयाँ केस देखा पर्दा महाराष्ट्र एक्लैमा १ हजार ९ सय ४३ जना संक्रमित थपिएका छन्। मुम्बईमा मात्रै ८ सय ७५ जना नयाँ संक्रमित भेटिएका हुन्। तामिल नाडूमा ६ सय ६९ र गुजरातमा ३ सय ९८ नयाँ संक्रमित थपिए भने दिल्लीमा ३ सय ८१ जना।
भारतका पूर्वी राज्यहरुमा श्रमिकहरु फिर्ता भएसँगै कोरोनाको संक्रमण पनि विस्तार हुँदै गएको छ। उडिसा सहित नेपालसँग सीमा जोडिएका पश्चिम वंगाल र बिहारमात्र ३ सय २१ संक्रमित थपिएका छन्। बिहारमा मात्र ८५ नयाँ संक्रमित थपिएका छन्। यसले नेपालको तराई भेग थप जोखिममा पर्ने सम्भावना बढाएको छ। महाराष्ट्रमा मात्रै हिजो ५३ जनाको निधन भयो जबकि भारतभर एक दिनमा १ सय १३ जनाले ज्यान गुमाए।
अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ६७ हजार १ सय ८६ पुगेको छ। भारतमा अहिलेसम्म कोरोनाका कारण २ हजार २ सय ६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने २० हजार ८ सय ४८ जना ठीक भएर घर फर्किएका छन्।