PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

लापर्वाहीको हद : हिजो काठमाडौंमा भेटिएका संक्रमित बालक एम्बुलेन्सबाट भित्र्याइएका थिए उपत्यका



सविन ढकाल

लापर्वाहीको हद : हिजो काठमाडौंमा भेटिएका संक्रमित बालक एम्बुलेन्सबाट भित्र्याइएका थिए उपत्यका

काठमाडौं : बिहीवार काठमाडौंमा एक बालकमा कोभिड- १९ पोजेटिभ देखियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सात वर्षीय बालकमा कोरोना पुष्टि भएसँगै उपत्यकामा फेरि संकटको बादल मडारिन थालेको छ।

संक्रमित बालक चन्द्रगिरि नगरपालिका वडा १ को दहचोमा बस्दै आएका छन्। बालक उनकी आमासहित २५ दिनअघि बाराबाट काठमाडौं आएको खुलेको छ। चैतको पहिलो साता नै आमाले बालकलाई लिएर बारा गएकी थिइन्। त्यहाँ उनको माइती हो।

'उनीहरुको बाराबाट आएको देखिएको छ। आमाले माइती लिएर गएकी थिइन्,' चन्द्रागिरि नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजेन्द्र केसीले भने।

बालकका बाबुको घर भने दोलखामा रहेको छ। उनीहरु केही समयदेखि काठमाडौंको दहचोकमा बस्दै आएका हुन्। बाबु ट्याक्सी चालक हुन्। सरकारले लकडाउन घोषणा गरेपछि माइत गएकी उनी उतै रोकिएकी थिइन्। तर, आफन्त पर्ने एक जना विरामी भएर काठमाडौं आउनुपर्ने भएपछि उनीहरु त्यही एम्बुलेन्स चढेर आएको खुलेको छ।

'उनीहरु एम्बुलेन्समा काठमाडौं आएको देखिएको छ। थप अनुसन्धान हुँदैछ,' एक प्रहरी अधिकृतले भने।

वैशाख ६ गते उनीहरु एम्बुलेन्स चालक सहित ६ जना काठमाडौं आएको प्रारम्भीक अनुसन्धानमा खुलेको हो। संक्रमित बालककी आमाले पनि एम्बुलेन्समा आएको स्वीकार गरेकी छिन्। संक्रमित बालकलाई उपचारको लागि पाटन अस्पताल लगिसकेको वडा अध्यक्ष केसीले जानकारी दिए।' एम्बुलेन्समा आएको बुझिएको छ।' वडाअध्यक्ष केसीले भने।

पछिल्लो समय काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमित देखिएका अधिकांश बाहिरी जिल्लाबाट आएका मानिसहरुमा देखिएको छ। चन्द्रागिरि नगरपालिकामा नै कोरोना संक्रमित देखिएकी महिला पनि महेन्द्रनगरबाट आएकी थिइन्। त्यस्तै भक्तपुरकी महिला पनि सुनसरीबाट आएकी हुन्। उनीहरुले सरकारले उपलब्ध गराएको सवारी पास प्रयोग गरेर काठमाडौं छिरेको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell