सिन्धुपाल्चोक : कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने महिलाको घर रहेको जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चे गाउँबाट पीसीआर परीक्षणका लागि ५५ जनाको थ्रोट स्वाब संकलन गरिएको छ। स्वाब संकलन आज पनि जारी छ।
महिलाको मृत्यु लगत्तै शनिबारदेखि सिल गरिएको बाह्रबिसे नगरपालिकाका वडा नम्बर ९ मा रहेको राम्चे ठोट्नेरीका बासिन्दाको आइतबार कोरोना परीक्षणका लागि बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीसहितको स्वास्थ्य टोलीले स्वाब संकलन गरेको हो।
संकलित स्वाको परिक्षण रिपोर्ट पछि महिलाबाट परिवार, आफन्त र समुदायमा कोरोना सरे नसरेको थाहा पत्ता लाग्ने छ। गाउँकी २९ बर्षिय सुत्केरीको मृत्यु कोरोनाका कारण भएको पुष्टि भएपछि ठोट्नेरी गाउँ त्रासमा छ। उनको शिशुसहित परिवारका सदस्यको भने रिपोर्ट नेगेटिभ आइसकेको छ।
आइतबार स्वास्थ्य मन्त्रालय, बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका संयुक्त स्वास्थ्य टोलीले गाउँमा स्वाब संकलन गरेको हो। स्थानीयले भने सबैको स्वाब संकलन गर्न माग गरेका छन्। तर स्वास्थ्यकर्मीले भने त्यसो गर्नुनपर्ने बताएका छन्।
वाग्मती प्रदेशको प्रदेश स्वास्थ्य निर्देशानलय सहितको स्वास्थ्य टोलीले पहिलो घेरामा कम्तीमा १ सय जनाको पीसीआर परीक्षणका लागि सूची तयार पारेको सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले बाह्रबिसे नगरपालिका ९ राम्चेकी २९ बर्षिया महिलाको कोरोना संक्रमणबाट निधन भएको खबरले आफूलाई दुखित तुल्याएको बताएका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्। सभामुख सापकोटाले सम्बन्धित क्षेत्रमा उच्च सतर्कताका साथ आबश्यक सुरक्षा र परीक्षणको ब्यवस्था मिलाइएकोले आफूले पनि सतर्कता अपनाउन र संयमित बन्न सबैमा आग्रह गरेका छन्।