PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

खाली नभएको भन्दै न्युजिल्यान्डकी प्रधानमन्त्री आर्डेर्नलाई क्याफेबाट फर्काइएपछि...



पहिलोपोस्ट

खाली नभएको भन्दै न्युजिल्यान्डकी प्रधानमन्त्री आर्डेर्नलाई क्याफेबाट फर्काइएपछि...
Photo : Marty Melville / AFP

कुनै पनि देशको सरकार प्रमुख खाजाको लागि क्याफे छिर्नु रोचक प्रसङ्ग हो। अझ त्योभन्दा पनि रोचक हो, क्याफेमा छिर्न नदिई फर्काइनु।

तर, शनिवार न्युजिल्यान्डमा यस्तै एउटा दृश्य देखिएको छ। जब प्रधानमन्त्री जासिन्डा आर्डेर्न खाजाको लागि वेलिङटनको एउटा क्याफेमा जान खोज्छिन् तब उनलाई त्यहाँ पस्न नदिई फर्काइन्छ। कोरोना भाइरसको जोखिमबाट बच्न सामाजिक दुरी कायम गर्नु पर्ने नियम अनुसार क्याफे भरिएको अवस्थामा उनलाई त्यहाँबाट फर्काइएको हो

‘ओ माई गड! जासिन्डा आर्डेर्न ओलिभमा आउन खोजेकी थिइन् तर उनलाई क्याफे भरिएकोले फकाइयो,’ ट्वीटर प्रयोगकर्ता जोईले शनिवार ट्वीट गरे।

न्युजिल्याण्डमा एक पटकमा सय जनासम्म मात्रै भेला हुन पाइन्छ र कम्तीमा एक मिटरको दुरी कायम गर्नुपर्ने नियम छ।

केही समय पछि जोईले पुनः ट्वीट गरे, ‘उनको लागि केही व्यवस्था गरियो।’

त्यसको केही घण्टापछि प्रधानमन्त्री जासिन्डाका फियान्से (मंगेतर) क्लार्क गेफोर्डले उनको ट्वीटमा रिप्लाई गर्दै सो गडबड परिस्थितिको जिम्मा लिए।

‘यसको जिम्मेवारी मैले लिनुपर्ने हुन्छ, मैले व्यवस्थित रुपमा कुनै ठाउँ रिजर्भ गरेको थिइनँ’, उनले लेखेका छन्, ‘तर, उहाँहरुले हामीलाई ठाउँ खाली भएपछि पछ्याएरै भएपनि बोलाउनुभयो। उत्कृष्ट सर्भिस।’

अधिकांश समय अन्य मुलुकमा नेताहरुले पहिले नै कर्मचारी पठाएर व्यवस्था मिलाउन लगाउँछन्। तर, आर्डेर्नको सचिवालयले अहिलेको कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थामा न्युजिल्यान्डले विभिन्न प्रतिबन्ध लगाइरहँदा जोकोही पनि क्याफे अगाडी कुर्नु पर्ने अवस्था आउन सक्ने बताएको छ।

उनको सचिवालयका प्रवक्ताले भने, ‘प्रधानमन्त्रीले अन्य नागरिक जसरी नै पर्खन रुचाउनुहुन्छ।’

आर्डेर्नको लागि कुनै अपवाद सिर्जना नगरिएको क्याफेका मालिकले न्युजिल्यान्ड हेराल्ड पत्रिकालाई बताए। त्यसकारण क्याफेका म्यानेजरले उनी र गेफोर्डलाई फर्काइदिएको उनले बताए। तर, टेबल खाली भएपछि फर्किसकेका उनीहरुलाई म्यानेजरले बाटोबाटै क्याफेमा बोलाएको उनले बताए।

‘खाजा खाएर आधा घण्टा जति समय पछि निस्किनु भयो’, उनले भने, ‘उहाँ सबै कर्मचारीहरुसँग खुसी हुनुहुन्थ्यो। हामीले पनि उहाँलाई सामान्य ग्राहककै व्यवहार गरेका हौँ।’

उनले प्रधानमन्त्रीले खाजामा के अर्डर गरिन् भन्ने बारे भने खुलाउन चाहेनन्। तर, त्यतिबेला उनीहरुकी २३ महिने छोरी भने साथमा नभएको उनले बताए।

‘त्यो डेट ब्रन्च थियो,’ उनले भने।

न्युजिल्यान्डमा १५ सयभन्दा कम मानिस कोभिड १९ बाट संक्रमित भएका छन्। जसमध्ये २१ जनाको मृत्यु भएको छ। न्युजिल्यान्डले १५ मार्चमा आफ्ना सबै सीमा बन्द गरेको थियो। त्यसको १० दिनपछि देशव्यापी लकडाउनको घोषणा गरियो।

अहिले न्युजिल्यान्ड विस्तारै सामान्य अवस्थामा फकिर्ने क्रममा छ। प्रधानमन्त्रीलाई प्रतिबन्धहरु फुकुवा गर्ने अनुमति मिलिरहँदा सतर्कता अपनाउन भने नछोडिएको सो घटनाले पनि पुष्टि गरेको छ।

‘हामीले हरेक नियम पालना गरिरहेका छौँ,’ ओलिभका मालिकले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell