काठमाडौं : महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत तथा अन्य प्रहरीको कोरोना संक्रमणको लागि स्वाब संकलन गरिएको छ।
महानगरीय प्रहरी वृत्त तथा त्यस अन्तर्गतका प्रभाग र अन्य गरेर २ सय ३१ जनाको स्वाब संकलन गरिएको महानगरीय प्रहरी वृत्तका डिएसपी रुकुम कुँवरले जानकारी दिए। 'हामी सबैको स्वाव संकलन गरिएको छ,' डिएसपी कुँवरले भने।
लकडाउनको समयमा सडकमा खटिएका प्रहरी नायव निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएपछि प्रहरीको कोरोना परीक्षण गरिएको हो। १९ जना प्रहरीको कोरोना परीक्षण गरिएको थियो जसमा २ जनामा प्रहरी पोजेटिभ रिपोर्ट आएको थियो।
त्यहाँ कार्यरत प्रहरीलाई वृत्त नै सिल गरेर क्वारेन्टाइनमा राखिएको छ। संक्रमण देखिएका प्रहरीलाई कहाँबाट कोरोना सर्यो भन्ने पुष्टि हुनसकेको छैन। उनीहरु लकडाउन अवधिमा ड्युटीमा नै कार्यारत थिए। 'कहाँबाट संक्रमण भयो भन्ने खुलेको छैन,' डिएसपी कुँवरले भने।
त्यस्तै कोरोना संक्रमण देखिएका प्रहरी बस्ने घर समेत सिल गरेर कन्ट्याक्ट ट्रेसिङ थालिएको छ। निवासस्थल काठमाडौँ महानगरपालिका १० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ। प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको छ।