PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्राध्यापक डाक्टर गोविन्द केसीले दार्चुलामा थाले अनशन



पहिलोपोस्ट

प्राध्यापक डाक्टर गोविन्द केसीले दार्चुलामा थाले अनशन

काठमाडौं : मेडिकल क्षेत्रमा सुधारको माग गर्दै आएका प्राध्यापक डाक्टर गोविन्द केसीले दार्चुला पुगेर अनशन थालेका छन्। विभिन्न तीन बुँदे माग राख्दै आज बिहान १० बजेबाट अनशन सुरु गरेका हुन्।

दार्चुला तथा अन्य सीमा क्षेत्र लगायत देशभर यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्ने, भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्नै र गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाउनु पर्नै माग उनले राखेका छन्।

गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याइयोस् तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गर्नु तीन सुत्रीय माग राखिएको छ। डाक्टर केसीले जारी गरेको विज्ञप्ति भनिएको छ, 'भारतले लिपुलेकमा सडक बनाएको समाचार आएसँगै सिंगो देश तरंगित भएको छ र राष्ट्रवादी नाराहरु उरालिएका छन्। तर, सीमाञ्चलमा पुगेर यहाँका नागरिकहरुको दु:ख पीडा बुझ्ने धैर्य र जाँगर कसैसँग छैन। नेताहरुलाई त आफ्नै जिल्लामा अरबौंका भ्युटावर बनाउनबाट फुर्सद् छैन, दुर्गमका बारेमा उनीहरुले कहिल्यै सोचेकै छैनन। सीमाक्षेत्रका मानिस जीवनजल नपाएर छट्पटिँदा, दुई छाक जोड्नका लागि विदेशिएर हेपिँदा र ठगिँदा, फर्कने क्रममा लुटिँदा हाम्रो राज्यका हर्ताकर्ताहरुलाई केही फरक परेको छैन।'

२१ गतेसम्म सत्याग्रह रहने डाक्टर केसीले जानकारी दिए। डाक्टर केसीले यसअघि जुम्ला, इलाम र डडेल्धुराजस्ता ठाउँमा सत्याग्रह बसिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell