काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि संविधान संशोधन विधेयक दर्ता तयारी गरेको छ। यतिबेला सिंहदरवारमा काँग्रेस सांसदहरु संशोधन विधेयक दर्ताका लागि ड्राफ्टको तयारी गरिरहेका छन्। संशोधन विधेयक तयारीका लागि सिंहदरबारमा काँग्रेस नेताहरु चित्रलेखा यादव, अमरेशकुमार सिंह, उमाकान्त चौधरीलगायत छन्।
काँग्रेसले मधेशका मुद्दलाई समेटेर संशोधन दर्ता गर्न लागेको काँग्रेस सांसद उमाकान्त चौधरीले जानकारी दिए।
काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेकै बेला दर्ता भएको विधेयक तत्कालीन नेकपा एमालेले सहमति नजनाएपछि सफल हुन सकेको थिएन।
सोही विधेयक काँग्रेसले ब्यूँताउन लागेको हो।
त्यतिबेला संविधान संशोधन गराउने सहमतिमै देउवा सरकारले स्थानीय निर्वाचन गराएका थिए।
'संविधान संशोधन गर्ने आश्वासन पाएपछि मधेशवादी दल निर्वाचनमा आएका हुन्, तर त्यति बेलाको संशोधन वाचा पूरा भएन,' काँग्रेस केन्द्रीय सदस्य समेत रहेका चौधरीले भने, 'यसै विषयमा हामीले संशोधन तयारी गरेका हौं।'
विधेयक आजै दर्ताको तयारीमा रहेको उनले बताए।
'संशोधन विधेयक आजै दर्ता गराउने तयारी छ। यसका लागि पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई जानकारी गराउँदैछौं,' सांसद चौधरीले भने।
यो चाहिँ पार्टीको अनुमतिको लागि हो?
जवाफमा उनले भने, 'यो त केन्द्रीय समितकै निर्णय हो नि। उहाँलाई जानकारीका लागि हो।'
गत शनिवार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संसदीय दललाई संविधान संशोधन प्रस्ताव पुन: दर्ता गराउन निर्दशन दिएको थियो। शनिवारको निर्णयमा भनिएको छ, 'नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गर्नुभएको सरकारले अघिल्लो संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्ताव पुनः दर्ता गर्न संसदीय दललाई निर्देशन गर्ने निर्णय यो बैठक गर्दछ।'
संविधान संशोधन दर्ताको तयारीमा पार्टी रहेको अर्का केन्द्रीय सदस्य एवं सांसद अतहर कमाल मुसलमानले बताए।