PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

घरभाडा, विद्यालय शुल्क र कर मिनाहाको माग गर्दै आन्दोलन घोषणा, अर्थमन्त्री र प्रमलाई ज्ञापनपत्र



पहिलोपोस्ट

घरभाडा, विद्यालय शुल्क र कर मिनाहाको माग गर्दै आन्दोलन घोषणा, अर्थमन्त्री र प्रमलाई ज्ञापनपत्र

काठमाडौं : विभिन्न दश संघ तथा संस्थाहरुले लकडाउन अवधिभरको व्यवसायी कर, घर भाडा, शैक्षिक संस्थाको शुल्क, बिजुली खानेपानी र इन्टरनेटको महशुल मिनाहको माग गरेका छन्।

उनीहरुले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने व्यवस्था गर्नुपर्ने, किसानलाई समयमै मल, बिउविजन उपलब्ध गराउन, वैज्ञानिक भाडादार कायम गर्न र भाडावाला आयोग गठन गर्न र बैंक तथा वित्तीय संस्थाको ब्याज मिनाहा गर्न पनि माग गरेका छन्।

रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा भाडावाला सरोकार समाज, नेपाल होस्टेल एशोएिसन, स्वास्थ्य विज्ञान व्यवसायी महासंघ, मझौला व्यापार व्यवसायी महासंघ, खुद्रा व्यवसायी संघ, सर्जिकल इक्युभमेन्ट सप्लायर्स संघ, स्वतन्त्र परामर्श शैक्षिक संघ, वैदेशिक रोजगार व्यवसायी संघ, ग्रिल व्यवसायी महासंघ र नेपाल उद्योग वाणिज्य व्यवसायी महासंघका पदाधिकारीले लकडाउन अवधिभर छुटको माग गरेका हुन्।

लकडाउनका कारण अहिले मानिसहरु रोगले भन्दा पनि भोकले मर्ने अवस्था सिर्जना भएको उनीहरुको भनाई छ। यस्तो बेला घरबेटीले भाडा तिर्न ताकेदा गर्नु, बैंक तथा वित्तिय संस्थाले किस्ता तिर्न, स्कुल तथा कलेजहरुले शुल्क र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले महशुल तिर्न ताकेदा गरिरहँदा आम नागरिक तथा व्यवसायीहरु डिप्रेसनमा पुग्ने खतरा बढेको उनीहरुले चेतावनी दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म १०६० जनाले आत्महत्या गरेका छन्। सरकारको विगतको गतिविधिले उसप्रति आम मानिसको विश्वास गुमिसकेको छ। सरकारको नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७७/७८ को बजेटमा कोरोना नियन्त्रण, बेरोजगार युवाहरुलाई रोजगार, किसानहरुलाई राहतलगायत तमाम नागरिकका समस्याहरुको समाधान गर्ने व्यवस्था गरिएको पाइँदैन। लकडाउनकै अवधिभित्रै कर तिर्न बाध्य बनाउन खोज्नु राज्य आतंक हो। यो हामी व्यवसायीको लागि सह्य छैन।’

उनीहरुले माग पूरा गराउनको लागि शुक्रवारदेखि चरणवद्ध आन्दोलन पनि घोषणा गरेका छन्। उनीहरुले आज अर्थमन्त्री डा. युवराज खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने, जेठ २५ गतेसम्म व्यापक प्रचार–प्रसार गर्ने र माग पूरा नभए सशक्त सडक संघर्ष गर्ने आन्दोलनको कार्यक्रम रहेको छ।

पत्रकार सम्मेलनको सभापत्वि तथा संयोजन गरेका भाडावाला सरोकार समाज नेपालका अध्यक्ष विष्णुजंग बस्नेतले लकडाउनका कारण सम्पूर्ण उद्योग तथा व्यवसाय ठप्प भएको र दैनिक ज्यालादारी, विपन्न वर्ग, किसान, मजदुर, सुकुम्वासीहरुलाई मर्माहत बनाएको बताए। यस्तो अवस्थामा सरकारले सरकारले राहत दिनुपर्ने र कम्तिमा एउटा जनमुखी राहत प्याकेज ल्याउनुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा नेपाल होस्टेल एशोसिएनका अध्यक्ष भक्ति पाठकले लकडाउनले पारेको पीडा सुनाएका थिए। उनले लकडाउनका कारण व्यवसाय नै ठप्प हुँदा पनि घरभेटीहरुले भाडा तिर्न ताकेता गरिरहेको सुनाए। उनले भने, ‘अहिले लकडाउनका कारण विद्यालय तथा कलेज बन्द छन्, योसँगै होस्टेल पनि चलेका छैनन्। सबै होस्टेल ठप्प हुने अवस्था छ। सरकारले न्यूनतम राहत प्याकेज ल्याउनुपर्छ।’

नेपाल उद्योग वाणिज्य व्यवसायी महासंघका उपाध्यक्ष मदन महर्जनले सरकार आफूहरुको मागप्रति गम्भीर हुनुपर्ने बताए। लकडाउनका कारण आफूहरु ठूलो मारमा परेकोले सरकारले राहतको प्याकेज ल्याउनुपर्नेमा उनको जोड थियो।

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले लकडाउनका कारण सम्पूर्ण व्यवसाय ठप्प भएको र आफूहरु ठूलो मारमा परेको पीडा सुनाए। सरकारले आफूहरुको जायज मागलाई सम्बोधन गर्नुपर्ने र यसमा गम्भीर बन्नुपर्ने उनको भनाई छ।

स्वास्थ्य विज्ञान व्यवसायी महासंघका अध्यक्ष नवराज बस्नेतले अहिलेको क्वारेन्टाइनको अवस्था राम्रो नगरिएको, कोरोना परीक्षण गर्ने पीसीआरलगायत स्वास्थ्य सामग्रीको राम्रो प्रबन्ध नगरिएको र सोही कारण मान्छेहरु संक्रमित हुनपरेको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell