PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

सुडान काण्डमा दोषी ठहरिएका पूर्व आइजीपी रमेशचन्द ठकुरी जेलमुक्त



पहिलोपोस्ट

सुडान काण्डमा दोषी ठहरिएका पूर्व आइजीपी रमेशचन्द ठकुरी जेलमुक्त

काठमाडौं : नेपाल प्रहरीका पूर्व आइजीपी रमेशचन्द ठकुरी जेल मुक्त भएका छन्। आज बिहान ठकुरी आफ्नो कैद सजाय भुक्तान गरेर डिल्लीबजारस्थित सदरखोर कारागारबाट निस्किएका हुन्। सुडान काण्डमा दोषी ठहरिएका पूर्व आइजीपी चन्दलाई १ वर्ष कैद र ४० हजार जरिवानाको फैसला सुनाइएको थियो। गत असार १९ गते ठकुरीले अदालत समक्ष आत्मसमर्पण गरेका थिए।

विशेषले २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको थियो। विशेषले प्रहरीका तीन पूर्व महानिरीक्षक तथा ठेकेदार कम्पनी र तिनका प्रतिनिधिलाई दोषी ठहर गरेको थियो। ३१ प्रहरी अधिकारीलाई भने विशेषले सफाई दिएको थियो।

'उहाँ नियमित कैद भुक्तान गरेर छुट्नु भएको हो।' कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदिप कणेलले भने।

विशेषका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्कीको इजलासले गरेको फैसलामा प्रहरीका पूर्व महानिरीक्षक ओमविक्रम राणालाई १७ करोड ६ लाख, हेमबहादुर गुरुङलाई ६ करोड ४८ लाख र रमेश चन्द ठकुरीलाई ४ करोड ८५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। 

यस्तै, ठेकेदार बेलायती कम्पनी एस्योर्ड रिस्कका निर्देशक माइकल राइडर र नेपाल प्रतिनिधि शम्भु भारतीलाई पनि दोषी ठहर गरेको थियो। विशेषले राइडरलाई झन्डै साढे २८ करोड र भारतीलाई १४ करोड जरिवाना हुने ठहर गरेको थियो ।

२०६९ जेठ २२ गते सरकारले मुद्दाको पुनरावेदन सर्वोच्च अदालतमा गरेको थियो। प्रधान न्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासले २०७४ जेठ १७ गते उनीहरुलाई दोषी ठहर गर्दै कारबाहीको फैसला सुनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell