PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

नझुक्किनु होला, जोरबिजोर सवारीको आधारमा उपत्यका बाहिर जान पाइँदैन



पहिलोपोस्ट

नझुक्किनु होला, जोरबिजोर सवारीको आधारमा उपत्यका बाहिर जान पाइँदैन

काठमाडौँ : लकडाउन घोषणा भएको ८० दिनपछि सरकारले केही खुकुलो बनाएको छ। सङ्क्रमणको जोखिम कम भएको जिल्लामा अब निजी सवारी साधन गुड्न पाउने छन्। तर, यसमा जोरबिजोर प्रणाली लागू हुनेछ। काठमाडौँ उपत्यकाभित्र आजबाट यो नियम लागू भएको छ। आज जोर नम्बर प्लेट भएका सवारी साधनले चल्न पाउनेछन्।

तर, निजी सवारी साधनले जोरबिजोर प्रणालीमा मात्र टेकेर तीन जिल्ला छोड्न वा उपत्यका आउन भने पाउने छैनन्। अझ भनौँ आज जोर सवारीले चल्न पाउँछन्। अब सिन्धुपाल्चोक, काभ्रे, वा कुनै जिल्ला जान चाहने हो भने पाइँदैन। 'काठमाडौँ उपत्यकाभित्र भएका सवारीले तीन जिल्लाहरू काठमाडौँ, भक्तपुर र ललितपुर मात्र चल्ने हो। नाकाबाट बाहिर जान पाइँदैन,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने।

त्यसो भए जिल्ला बाहिर जान वा आउन चाहिँ के व्यवस्था छ? एक जिल्लाबाट अर्को जिल्लामा जान भने पुरानो व्यवस्था नै लागू गरिएको छ। अर्थात् एक जिल्लाबाट अर्को जिल्लामा जानु पर्ने भए कारण खुलाएर सम्बन्धित जिल्ला र जानु पर्ने जिल्ला प्रशासन कार्यालयको समन्वयमा मात्र जान पाइने छ। काठमाडौँ उपत्यकाभित्र आउने केसमा भने गृह मन्त्रालयसँग समन्वय गरेर मात्र आउने व्यवस्था छ। तर, त्यसका लागि पनि नाकामा कोरोना सङ्क्रमण भए नभएको बुझ्नको लागि आरडीटी गरेको रिपोर्ट देखाउनुपर्ने छ।

जोरबिजोर लागू भएको सवारी साधनमा पनि चार पाङ्ग्रेले  चालक बाहेक दुई जना र दुई पाङ्ग्रे सवारी साधनले चालक मात्र बोक्न पाउने व्यवस्था गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell