वीरगंजः आरडीटी रिपोर्ट पोजेटिभ आएको बारा, निजगढका ५ वर्षीय बालकको वीरगंजको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। वीरगंज–१४ बहुअरीस्थित वीरगंज हेल्थ केयर हस्पिटलमा शुक्रबार अपरान्ह ३ बजे बालकको मृत्यु भएको अस्पतालले जनाएको छ।
निमोनियाले सिकिस्त बालकलाई बिहान ११ बजे उपचारका लागि वीरगंज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको थियो। बालक निमोनियाकै मृत्यु भएको हुनसक्ने चिकित्सकहरुले बताएका छन्। अस्पताल ल्याइएपछि भेन्टिलेटरमा राख्नुअघि उनको आरडीटी गरिएको थियो।
आरडीटी रिपोर्ट पोजेटिभ आएपछि बालकको स्वाब संकलन गरेर पीसीआर टेस्टका लागि नारायणी अस्पतालको ल्याबमा पठाइएको अस्पतालका सञ्चालक डा. अबुल हैस अन्सारीले बताए।
रिपोर्ट आउन बाँकी नै रहेकाले शव अस्पतालमै राखिएको छ। बालकको परिवारका बाबु, आमा तथा दुई जना स्वास्थ्यकर्मी गरी ५ जनाको स्वाब संकलन गरी परिक्षण गर्न पठाइएको छ।
अन्य ३ जना शंकास्पद विरामीलाई पनि आइसोलेसनमा राखेर उपचार भइरहेको छ।