काठमाडौं : भारतीय अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा नातावाद 'नेपोटिज्म' पुन: एक पटक वहसको विषय बनेको छ। उनको मृत्यु पछि अभिनेत्री कंगना रनौतले सार्वजनिक गरेको भिडियो भाइरल भएसँगै मनोरञ्जन क्षेत्रमा हावी हुने नातावाद बारे चर्चा सुरु भयो।
भिडियोमा उनले भनेकी छिन्,'सुशान्तले इन्डस्ट्रीमा आफ्नो कोही ‘गड फादर’ भएका कारण आफू यहाँबाट निकालिन सक्ने बताएका थिए।'
कंगनाको टिप्पणीको त विरोध र तारिफ दुवै भयो नै। साथै सामाजिक सञ्जालदेखि मिडियाहरुमा उनले उठान गरको विषयले महत्व पायो। नेपाली फिल्म इन्डस्ट्रीमा पनि नातावादलाई लिएर कलाकारदेखि अन्य फिल्मकर्मीको धारणा सार्वजनिक हुन थाल्यो।
अभिनय क्षेत्रमा प्रतिभाभन्दा नातावाद हावी भएको बारे कलाकार नाजिर हुसेन लेख्छन् : हुन त बलिउडमा जत्तिको 'हार्डकोर नेपोटिज्म' नेपाली फिल्म जगतमा नहोला। तर, यस बिषयमा वहस हुन जरुरी छ। नेपाली चलचित्र जगतमा अहिले भइरहेको 'ग्रुपिज्म' हामी सबै स्वीकार्छौ र 'ग्रुपिजम' पनि 'नेपोटिज्म' कै उपज हो भन्दा फरक नपर्ला।
उनले नेपाली फिल्म क्षेत्रमा हावी ग्रुपिज्मकै कारण इन्डस्ट्रीमा संघर्ष गरिरहेका थुप्रै कलाकार पलायन भएको बताएका छन्।
त्यस्तै नाटक निर्देशक एवं कलाकार संयोग गुरागाईंले पनि यस विषयमा फेसबुक पोस्ट गरेका छन् : केही कलाकार चलचित्रकर्मीसँग विभिन्न नाता गाँसेर सोही कर्मीले निर्माण गर्ने हरेक चलचित्रमा आफूलाई कुनै न कुनै रुपमा घुसाइरहेछन्। र, राम्रो काम गरे राम्रो अवसर पाइन्छ भन्ने मजस्ता अरु केही मूर्खहरु बन्द कोठामा 'क्यारेक्टर मेकिङ प्रोसेस'को अभ्यास गरेर बसिरहेछन्।
अभिनेता सुशित श्रेष्ठले भने यस विषयमा फरक मत राखे। उनले फिल्म क्षेत्रमा संलग्नहरुकै परिवारबाट आए पनि कलाकारले मिहेनत गर्ने र कामकै कारण स्थापित हुने बताएका हुन्। उनले आफू कुनै फिल्मकर्मीको परिवारबाट नभएको स्पष्ट पार्दै लेखेका छन्,'नेपालमा अहिले नै यस्तो नेपोटिज्मको कुरा नगरौं जस्तो लाग्छ। बरु आफू मिहेनत गर्दै गरौं। अगाडि बढ्दै गरौं।'
उनले आफ्ना कतिपय साथीहरु आफूसँगै फिल्म क्षेत्रमा आएका छन् जो फिल्मी परिवारको नभएता पनि राम्रो कामका कारण राम्रो स्थानमा पुगेको बताएका छन्।
अभिनेत्री वर्षा सिवाकोटीले पटक पटक यस क्षेत्रमा नातावाद बारे आफ्ना विचार अभिव्यक्त गर्दै आएकी छिन्। तर, नेपाली फिल्म क्षेत्रमा नातावाद मात्र समस्या नभएको उनको धारणा छ। यहाँ नातावाद, कृपावाद, अनावश्यक तुलना, पत्रकार र कलाकारको अस्वभाविक निकटता, प्रेम सम्बन्ध आदिले असर गर्ने बताएकी हुन्। यस्ता विषयले आफू एवं अन्य कलाकारलाई मानसिक तनाव दिने बताउँदै लेखेकी छिन्,'तपाईं कुनै काम गर्नुहुन्छ भने पूर्ण मिहिनेत, विश्वास र समर्पणका साथ गर्नुस्। जहाँ कुनै वादले छुन पनि नसकोस्। तपाईं प्रतिभा सम्पन्न, लगनशील र आत्मविश्वासी हुनुहुन्छ भने एकदिन अवश्य तपाईंको मिहीनेतले कदर पाउने छ। हत्केलाले सूर्यलाई छेकेर छेकीन्छ र?'
त्यस्तै हाँस्य कलाकार दीपकराज गिरीले यस विषयमाथि व्यङ्ग्य गर्दै लेखेका छन्,'हामी कँहा नेपोटिज्म होइन नेप्टोजम र चेप्टोजमको समस्या छ! गलत मान्छेहरू यहि दाउरोमा भात पकाउछन्!'
फिल्म निर्देशक दीपेन्द्र लामाले नेपाली फिल्म क्षेत्रमा कुनै किसिमको 'इज्म' नभएको बताएका छन्। उनले लेखेका छन्,'जुगजुगसम्म बाँचिरहने फिल्म बन्ने भए पो कलाकारहरु अमर रहिरहने सम्भावना हुन्छ। त्यो हैसियत पनि नेपाली फिल्मको छैन। सामाजिक संजालमा हेर्नुस्, नेतापछि बढी गाली खानेमा कलाकार नै पर्छन्। अब, यस्तो क्षेत्रमा केको नेपोटिज्म, केको नेप्टोइज्म। वास्तवमा यहाँ कुनै इज्म नै छैन।'