PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

प्रदेश ५ का ९ जनाको मृत्यु : ज्यान गुमाउनेमध्ये पाँचमा थिएन कोरोनाबाहेक अन्य कुनै रोग



विधुर ढकाल

प्रदेश ५ का ९ जनाको मृत्यु : ज्यान गुमाउनेमध्ये पाँचमा थिएन कोरोनाबाहेक अन्य कुनै रोग

काठमाडौं : प्रदेश ५ मा ९ जना कोरोना भाइरसका संक्रमितहरुको मृत्यु भएको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु भएकाहरु मध्ये तीन जनाको मृत्यु क्वारेन्टाइनमा नै भएको छ। त्यस्तै एक चार जनाको मृत्यु अस्पताल तथा आइसोलेसनमा सेन्टरमा भएको छ।

प्रदेशमा मृत्यु हुनेमध्ये एक जनाले आत्महत्या गरेका हुन् भने दुई जनाको नेपाल आउने क्रममा भारतीय भूमिमा नै मृत्यु भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसकै कारण कोही पनि नमरेको दाबी गर्दै आएका छन्। उनले संक्रमित व्यक्तिहरु अन्य स्वास्थ्य जटिलता वा कम्प्लेक्सनका कारण मरेको दाबी गर्दै आएका छन्। तर, प्रदेश ५ मा मृत्यु भएकाहरु अधिकांशमा अन्य कम्प्लेक्सन थाहा नभएको प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

बुधवारमात्र अर्घाखाँचीको शितगंगा ५ स्थित हरि मावि क्वारेन्टाइनमा रहेका ४५ वर्षका पुरुषले आत्महत्या गरे। बाँकी ५ जनाको मृत्युमा पनि कोरोना बाहेक अन्य कारण खुलेको छैन। उनीहरुमा कोरोनाको संक्रमण थियो। तर, अन्य कारण थियो कि थिएन भन्ने थाहा नभएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

मृतकहरुमा कोरोना संक्रमणबाहेक अन्य कम्प्लेक्सन वा स्वास्थ्य जटिलता 'कमोरबिडिटी' बारेमा थाह नभएको तथ्यांकमा उल्लेख छ।

जेठ ४ गते बाँकेको नरैनापूरस्थित दीपेन्द्र प्राविको क्वारेन्टाइनमा रहेका २५ वर्षका युवाको मृत्यु भयो। उनको मृत्युपछि उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो। त्यस्तै, जेठ ११ गते नेपाल आउने क्रममा अर्घाखाँचीका ३६ वर्षका पुरुषको नेपाल आउने क्रममा सीमावर्ती क्षेत्र भारतमा बसमा नै मृत्यु भयो। जेठ २५ गते दाङका ५९ वर्षका पुरुषको पनि भारतमै मृत्यु भयो। उनीहरु दुवैको शव नेपाल ल्याइ दाहसंस्कार भयो।

मृत्यु भएका अर्घाखाँचीका पुरुषको स्वाब प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही र दाङका पुरुषको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा परीक्षण गरियो। परीक्षणमा उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। उनीहरुमा पनि 'कमोरबिडिटी' थाहा भएन।

त्यस्तै, पाल्पा मिसन अस्पतालमा जेठ २० गते मृत्यु भएका पाल्पाका ३१ वर्षका पुरुष र नेपालगंज मेडिकल कलेज कोहलपुरमा असार २ गते मृत्यु भएका बाँकेका ४६ वर्षका पुरुषमा पनि कोरोना बाहेक अन्य जटिलता पुष्टि नभएको स्वास्थ्य निर्देशनालयको सिचुएसन रिपोर्टमा उल्लेख छ।

मृत्यु भएकामध्ये अन्य तीन जनामा मात्र कमोरबिडिटी पहिचान भएको छ। जसमध्ये रुपन्देहीको क्रिमसन अस्पतालमा जेठ ८ गते मृत्यु भएका गुल्मीका ४१ वर्षका पुरुषमा जन्डिस थियो। उनी उपचारका लागि नै अस्पतालमा भर्ना भएका थिए। त्यस्तै अर्घाखाँचीको मालारानी क्वारेन्टाइनमा रहेका अर्घाखाँचीकै ५७ वर्षका पुरुषमा घाँटीको क्यान्सर थियो। उनलाई स्वास प्रस्वासमा समस्या आएपछि बुटवलको लुम्विनी प्रादेशिक अस्पतालमा लगिएको थियो। त्यहाँबाट उपचार गरी फर्कने क्रममा उनको मृत्यु भएको थियो। त्यस्तै, जेठ ३२ गते तम्घासको महिला विकास भवनको आइसोलेसनमा मृत्यु भएका गुल्मीकै ३६ वर्षका पुरुषमा घाँटीको क्यान्सर रहेको थियो।

राज्यले नदेखेको मृत्यु

नेपाल फर्किने क्रममा भारतीय सीमावर्ती क्षेत्र बसमै मृत्यु भएका अर्घाखाँचीका एक जना पुरुषको मृत्यु भयो। दुई दिनपछि कोरोना संक्रमण पुष्टि भयो। त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको मृत्यु भएको पुष्टिसँगै मृतकको संख्यामा एक थप्यो। उनको मृत्युमा श्रद्धान्जली दिएको मन्त्रालय प्रदेशकै यस्तै प्रकृतिको मृत्युमा भने बेखबर जस्तै छ।

स्वास्थ्य मन्त्रालयले भारतमा मृत्यु भएका दाङका एक युवाको मृत्युलाई नेपालको मृत्युमा राखेको छैन। दाङका पुरुषको पनि अर्घाखाँचीका पुरुषको जस्तै नेपालमा शव ल्याइ दाहासंस्कार गरिएको थियो। उनको स्वाब पनि नेपालमै परीक्षण भएको थियो।

'उहाँको भारतमा मृत्यु भएको हो। नेपालमा शव ल्याएर यतै व्यवस्थापन गरिएको हो,' दाङका सहायक प्रमुख जिल्ला अधिकारी गंजबहादुर एमसीले भने, 'स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो। कोरोना पुष्टि भएको छ।'

प्रदेशको सामाजिक विकास मन्त्रालयले उनमा कोरोना पुष्टि भएसँगै प्रदेशमा मृतकको संख्या ४ बाट ५ पुर्‍यायो। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसलाई मृत्युमा जोडेको छैन। प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा अर्घाखाँचीको क्वारेन्टाइनमा रहेका व्यक्तिले आत्महत्या गरेसँगै उनमा कोरोना पुष्टि भए पछि मृतकको संख्या बढाएर ९ पुर्‍याएको छ।

प्रदेश ५ मा बुधवार साँझसम्मको तथ्यांक अनुसार दुई हजार ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्‍टि भएको छ। संक्रमित मध्ये ७ सय ४४ जना उपचारपछि निको भएर फर्किएका छन्। त्यस्तै, एक हजार २ सय ७८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।

संक्रमितमध्ये ७ जनाको लुम्विनी प्रादेशिक अस्पताल/धागो कारखानाको आइसीयुमा ७ जनाको उपचार भइरहेको छ।

प्रदेशमा कूल संक्रमितमध्ये सबैभन्दा बढी कपिलवस्तु जिल्लामा ६ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बाँके जिल्लामा ३ सय २४, दाङमा २ सय ५१, रुपन्देही जिल्लामा २ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, अर्घाखाँची जिल्लामा संक्रमितको संख्या १ सय ५५ पुग्दा बर्दिया जिल्लामा १ सय ४५ छ। प्युठानमा ७३, गुल्मीमा ६०, पाल्पामा ४९ र नवलपरासी पश्चिममा ४८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै रोल्पामा ३९ र रुकुम पूर्वमा ३ जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell