काठमाडौँः सदनमा विचाराधीन नागरिकता विधेयक तथा मिलिनयम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता लगायतका विषयमा सत्तारुढ र प्रतिपक्ष दलका नेता छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका केही नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितको टोली छलफलमा जुटेका छन्।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार छलफलमा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवा, नेताहरु रामचन्द्र पौडेल, रामशरण महतलगायत सहभागी छन्।
एमसीसीसँगको सम्झौता एक वर्षदेखि प्रतिनिधिसभा सचिवालयमा विचारधीन छ। नागरिकता विधेयक दुई वर्षदेखि संसदीय समितिमा अलपत्र छ। नागरिकता विधेयकमा सहमति गर्न गृहमन्त्रीले बुधबार संसदीय समितिमा ५ दिन समय माग गरेका थिए।
यस्त एमसीसीबारे नेकपाभित्र विवाद छ। कांग्रेसले निरन्तर रुपमा उक्त सम्झौता सदनबाट अनुमोदनको पक्षमा आवाज उठाउँदै आएको छ।
प्रधानमन्त्री ओलीले बिहीबार राष्ट्रियसभामा एमसीसीबारे नपढी हल्ला फैलाएको बताएका थिए। एमसीसीकै बिषयमा छलफलका लागि नेकपाले असार १० गते स्थायी कमिटी बैठक बोलाएको छ।
आजै कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी राष्ट्रको हितमा भएको बताउँदै छिट्टै संसदको विषय बनाएर टुंग्याउनु पर्ने बताएका थिए।