PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

हस्तकला ब्यापारमा आएको संकट झेल्न साझा रणनीति बनाउँदै उद्यमी, भने- सामूहिक रुपमै लाग्नुपर्छ



पहिलोपोस्ट

हस्तकला ब्यापारमा आएको संकट झेल्न साझा रणनीति बनाउँदै उद्यमी, भने- सामूहिक रुपमै लाग्नुपर्छ

काठमाडौं : नेपाल हस्तकला व्यवसायी संघले कोभिड १९  महामारीपछि हस्तकलाको व्यावसायिक वातावरणमा परेको असरलाई कम गर्न साझा रणनीति तयार गर्ने बारे छलफल गरेको छ।

संघले भर्चुअल सेमिनार गरी महामारीका कारण हस्तकलाको ब्यापारमा आएका समस्याहरुलाई पन्छाउँदै निर्यात ब्यापार प्रवर्द्धनका लागि के गर्न सकिन्छ भन्ने बारे सरोकारवालाहरुसँग छलफल गरेको जनाएको छ।

संघकी अध्यक्ष मिरा भट्टराइले हस्तकला उद्यमीलाई परिवर्तित सन्दर्भमा व्यापार कसरी टिकाउने र आइपर्ने समस्या झेल्दै व्यवसाय प्रवर्द्धन गर्न के कस्ता साझा रणनीति अबलम्बन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताइन्।

उक्त कार्यक्रममा श्रोत व्यक्तिका रुपमा व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका कार्यकारी उपनिर्देशक  सुयश खनाल र गेट पेपर इन्डस्ट्रिजका प्रबन्ध निर्देशक डा. मिलन देव भट्टराईले अवधारणा प्रस्तुत गरेका थिए। सहजकर्ताको भूमिकामा रहेका  संघका सल्लाहकार पञ्चरत्न शाक्यले सेमिनारको औचित्यबारे प्रकाश पार्दै कार्यक्रम सहजीकरण गरेका थिए।

कार्यक्रममा नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले हस्तकलाको व्यापारलाई पारिरहेको प्रभावका बारेमा छलफल गर्नु अत्यावश्यक भैसकेको बताए। उनले आगामी दिनमा जिल्ला संघहरूसित सहकार्य गर्ने समेत बताए।

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका कार्यकारी उपनिर्देशक सुयश खनालले नेपालको  पर्यटन क्षेत्रमा परेको प्रभाव र निर्यात आएको गिरावटको कारणले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर १. ८ प्रतिशतमा सीमित हुने अनुमान गरिएको बताए।

निर्यात प्रवर्धन सम्बन्धी नीतिमा नेपाल सरकारले जोड दिएर निर्यात गृहको स्थापना, व्यापार प्रवद्र्धनका लागि मास्टर प्लानको निर्माण र ट्रेडमार्क प्रणालीको विकास गर्दै लैजाने योजना बनाएको उनको भनाई छ।

केन्द्रले पनि विभिन्न योजना र कार्यक्रम तयार गरी बजारीकरण र सीपमा आधारित तालिम, निर्यात गृहको अवधारणा कार्यान्वयन, क्यास इन्सेन्टिभ सम्बन्धमा सहजीकरण गर्ने र निर्यात मैत्री सुझाव सरकारलाई दिइरहेको उपनिर्देशक खनालले जानकारी दिए। उनले व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र निर्यात केन्द्र हस्तकला व्यवसायीको समस्याहरुको समाधानका लागि समन्वयकारी भूमिका खेल्न तयार रहेको बताए ।

गेट पेपर इन्डस्टिजका प्रबन्ध निर्देशक डा. मिलन देव भट्टराईले कोभिडको महामारी पश्चात् उद्योग, व्यवसाय सञ्चालनमा आएपछि सामना गर्नुपर्ने विभिन्न चुनौतीमाथि विश्लेषण गर्दै  कोभिडको अवधिभर काम गर्ने ठाउँमा स्वास्थ्य र सुरक्षाका उपायहरूको अवलम्बन गर्दै कामदार, कर्मचारी, बिक्री कक्ष र त्यहाँ आउने ग्राहकहरुलाई समेत कसरी सुरक्षित गर्ने भन्ने चुनौती थपिएको बताए। उनले लागत वृद्धिका कारक तत्वहरूको उल्लेख गर्दै आपूर्ति शृंखलाबाट पर्ने प्रभाव, नेपाली उत्पादनको स्थानीय र विदेशी बजारमा आउने मागको गिरावटलाई विश्लेषण गरेका थिए ।

विभिन्न कठिनाइ र समस्याको सामना गर्न नसकेर कतिपय उद्योग व्यवसाय नै बन्द हुने सम्भावना भएको कुरा उल्लेख गर्दै त्यससित जुध्न अपनाउनुपर्ने विभिन्न रणनीतिहरूका बारेमा पनि उनले सुझाव दिए।

संगठित संस्थाहरुले एक्लैभन्दा पनि सामूहिक रुपमा सरकारलाई घच्घच्याउनु जरुरी भएको उनको भनाई छ।

अहिलेको परिवर्तित वातावरणको सन्दर्भमा डिजाइनलाई फरक ढंगले प्रस्तुत गर्दै सामाजिक सञ्जालको प्रयोगका साथै अनलाईन व्यापारको प्रणालीलाई महत्वका साथ कार्यान्वयन गर्ने तर्फ ध्यान दिन उनले आग्रह गरे ।

सहभागीहरुले उक्त विषयमा सरकारसित बलियो रुपमा वकालत गर्नुपर्ने सुझावका साथै  हस्तकलाका वर्तमान समस्यामा केन्द्रित भएर कार्यक्रमहरुको आयोजना गर्नुपर्ने बताएका थिए ।

महासंघका पूर्व अध्यक्ष एवं संघका सल्लाहकार तथा कार्यक्रमका सहजकर्ता पञ्चरत्न शाक्यले पर्यटन क्षेत्रमा परेको प्रभाव र निर्यातमा आएको गिरावटको कारणले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर १. ८ प्रतिशतमा सीमित हुने अनुमान गरेको र निर्यात प्रवर्द्धन सम्बन्धी नीतिमा नेपाल सरकारले जोड दिए जस्तै निर्यात गृहको स्थापना, व्यापार प्रवद्र्धनका लागि मास्टर प्लानको निर्माण र ट्डमार्क प्रणालीको विकास आदि विषयमा सरकारले केही कदम चाल्न खोजेको जानकारी दिए।

सोही आधारमा टिइपिसीले विभिन्न योजना र कार्यक्रम तयार गरेको उनले जानकारी दिए। बजारीकरण र सीपमा आधारित तालिम, निर्यात गृहको अवधारणा कार्यान्वयन, नगद अनुदान सम्बन्धमा सरल र सहजीकरण बनाउने र निर्यात मैत्री सुझाव वाणिज्य मन्त्रालयलाई सुझाव दिइरहेको जानकारी दिए । विदेशी आयातकर्ताहरुको माग पूरागर्न बलियो क्षमताको विकास गर्नुपर्ने आवश्यकता उनले औल्याए।

सरकारी निकायलाई हस्तकलाका सामान आपूर्ति गर्ने, नगद अनुदानसम्बन्धी सुविधा, निर्यात गृहको कायान्वयन र सरकारी निकायबाट हस्तकला उद्यमीले लिन सक्ने फाइदाका बारेमा झन्झटिलो प्रक्रिया पूरा गनुपर्ने जस्ता धेरै मुद्दाहरू  भर्चुअल सेमिनारका सहभागीले उठाएका थिए।

छलफलमा नेपाल हस्तकला महासंघ, महिला उद्यमी महासंघ, स्वच्छ व्यवसायी समूह नेपाल नेपाल निर्यात परिषद्का साथै आयोजक संघका प्रतिनिधि एवं सदस्यहरुको सहभागिता रहेको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell