जनकपुरधाम : नागरिकता ऐन संशोधन विधेयकको विरोधमा जनकपुरसहित प्रदेश २ का विभिन्न पार्टी तथा संघसंगठनले प्रदर्शन गरेका छन्। नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल, जनता समाजवादी पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले जनकपुरमा नागरिकता ऐन संशोधन विधेकको विरोधमा प्रदर्शन गरेका हुन्।
नेकपाले सात वर्षपछि मात्र नेपाली पुरुषसँग विवाह गरी आउने बुहारीलाई अंगिकृत नागरिकता दिने निर्णय गरेको थियो। नागरिकता ऐन संशोधन विधेयकमा थपिएको सो प्रस्ताव खारेज गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका छन्।
त्यस्तै, प्रदेश २ को वीरगंज, राजविराज, जलेश्वरलगायत विभिन्न जिल्लाहरुमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमत पार्टीले आइतवार विरोध प्रदर्शन गरेका छन्।
अन्य मुलुकबाट विवाह गरी आउने बुहारीलाई सात वर्षपछि मात्र नागरिकता दिने संविधानको मूल मर्म र भावना विपरीत भएको कांग्रेस र जसपाको धारणा छ। यसले नेपाल भारतबीच युगौंदेखि रहेको रोटीबेटी र साँस्कृतिक सम्बन्धमा आँच पुग्ने नेताहरुले दावी गरिरहेका छन्।