जनकपुरधाम : नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) धनुषाले जनकपुरमा प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको पुतला दहन गरेको छ।
धनुषाको हंसपुर नगरपालिका वडा नम्बर-७ स्थित प्रसाहीका १६ वर्षीय युवक राजु सदाको प्रादेशिक अस्पताल जनकपुरमा चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै सदालाई न्याय र परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। तरुण दल र नेविसंघका कार्यकर्ताहरुले जनकपुरको शिवचोकमा सामाजिक विकासमन्त्री नवल किशोर साहविरुद्ध नारा लगाउँदै उनको पुतला समेत जलाएका छन्।
धनुषाको हंसपुर नगरपालिका वडा नम्बर-७ प्रसाहीका १६ वर्षीय राजु सदाको क्वारेन्टाइनमा आरडीटीमा पोजेटिभ रिपोर्ट आएपछि उनलाई जेठ २८ गते प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो।
उनलाई झाडापखाला समेत रहेकोले रोगव्याधीले उनी निकै सिकिस्त भएका थिए। पछि उनलाई उपचारका लागि अस्पतालको इमरजेन्सी कक्षमा ल्याइयो। पीसीआर परीक्षण गरिएपनि रिर्पोट आउन ढिलो भएपछि अस्पतालमै असार ५ गते उनको मृत्यु भएको थियो।