कैलाली : सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक किलो सलह कीरा ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको छ। मन्त्रालयले प्रदेशमा हाल अनिकाल निम्त्याउने सलह भित्रिनसकेको अवस्थामा भित्रिन सक्ने खतरा तर्फ सतर्कता अपनाइएको जनाएको छ। सोही सतर्कता स्वरूप मन्त्रालयले एक किलो सलह ल्याउनेलाई २५ रुपैयाँ दिने निर्णय भएको जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माका अनुसार सलह कीराले पुर्याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये कीरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २५ रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको हो।
सलह कीरा मारेर स्थानीय तहको कृषि शाखामा उपलब्ध गराए उक्त स्थानीय तहले रकम उपलब्ध गराउने उनले बताए।
यता धनगढी उप-महानगरपालिका पनि सलह भित्रिन सक्ने भन्दै त्यसबाट बाली जोगाउने पूर्वतयारीमा जुटेको छ। आइतवार उप-महानगरपालिकाले १९ वटै वडाका वडाध्यक्ष, कृषि शाखाका कर्मचारीहरूसँग छलफल गरेको छ।
‘त्यसको स्थानीय स्तरमा कसरी क्षति घटाउन सकिन्छ भनेर छलफल गरिएको छ’, धनगढीका नगरप्रमुख नृपबहादुर वडले भने, ‘सलह कीराको सम्भाव्य जोखिम र त्यसको व्यवस्थापनका बारेमा छलफल गरिएको हो।’
जोखिम घटाउनका लागि स्थानीय स्तरमा के गर्न सकिन्छ सबै उपाय अपनाउन वडा अध्यक्षहरू र कृषि प्राविधिकहरूलाई निर्देशन दिइएको पनि उनको भनाइ छ।