PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

नक्कली बिलबुक बनाएर मोटरसाइकल किनबेच गर्ने यातायातका कर्मचारीसहितको गिरोह पक्राउ



एम बम

नक्कली बिलबुक बनाएर मोटरसाइकल किनबेच गर्ने यातायातका कर्मचारीसहितको गिरोह पक्राउ

कैलाली : प्रहरीले यातायात कार्यालय धनगढीका दुई कर्मचारीसहित सवारी साधन चोरी र कागजात किर्ते प्रकरणमा संलग्न १२ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जाँचका क्रममा एकै मोटरसाइकलका दुई बिलबुक फेला परेपछि प्रहरीले खोजीकार्य अघि बढाउँदा कैलाली र कञ्चनपुरमा नक्कली बिलबुक बनाएर चोरीका मोटरसाइकल बिक्री गर्ने गिरोह फेला पार्न सफल भएको हो। उनले आठ मोटरसाइकल, तिनका बिलबुक र १२ जनाको गिरोह पक्राउ परेको जानकारी दिए।

कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले यातायात व्यवस्था कार्यालय धनगढीमा सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत जितेन्द्र  राना र कार्यालय सहयोगी  गणेश भट्टराईलाई समेत पक्राउ गरिएको बताए। यस्तै, कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर. ४ बस्ने वर्ष ३५ का बहादुर राना, बेतकोट नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ३५ का राजकुमार राना, सोही ठाउँका २५ वर्षीय हरेन्द्र राना, ३० बर्षीय सुवेश राना रहेका छन्।

त्यसैगरी, लालझाडी गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ४२ का रामनिवास राना, शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोक बस्ने वर्ष २७ का श्याम राना, कञ्चनपुर बेतकोट नरपालिका वडा नम्बर ६ बस्ने वर्ष २८ का रामलाल राना, बेतकोट नगरपालिका ५ बस्ने वर्ष १८ का प्रदीप राना, बेतकोट नगरपालिका वडा नम्बर ५ का वर्ष २७ का लक्ष्मी रानालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

नक्कली सवारी दर्ता किताब सहित ८ वटा चोरीका मोटरसाइकल समेत बरामद गरिएको उनले बताए। प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट सयुक्त रुपमा विशेष अप्रेसन सञ्चालन गरी उनीहरुलाई पक्राउ गरिएको हो। विभिन्न कम्पनीका मोटरसाइकल र नक्कली बिलबुकहरु समेत बरामद गरीएको छ।

उनीहरु कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संग्लन रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरुलाई दुबै जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell