कोलकाता : कोरोना भाइरसको कहर तीब्र गतिमा फैलिन थालेपछि कोलकाता विमानस्थलले शनिवार दिल्ली, मुम्बई, चेन्नई, पुणे, नागपुर र अहमदावबाट कुनै पनि फ्लाइट आउन नदिने जनाएको छ।
सोमवारबाट लागू हुने गरी १९ जुलाईसम्म ती स्थानहरुबाट विमान सेवा आउन नदिने जनाएको हो। भारतले मे २५ देखि आन्तरिक हवाई उडान पुन: सुरु गरेको थियो। दुई महिना पूर्ण रुपमा बन्द हवाई सेवा त्यसपछि सुरु भएको थियो। तर, भारतमा कोरोना संक्रमितको संख्या अत्याधिक हुन थालेपछि हवाई यात्रामा निषेध गरेको हो। यद्यपि, लकडाउनका कारण भारतले अन्तर्राष्ट्रिय उडानहरु ठप्प पारेको छ।
'दिल्ली, मुम्बई, पुणे, नागपुर, चेन्नई र अहमदावादबाट दिल्ली आउने विमानलाई १९ जुलाईसम्म निषेध गरिएको जानकारी सबैलाई गराउन चाहन्छौं,' विमानस्थलले आफ्नो ट्विटरबाट जानकारी गराएको छ।
भारतमा ६ लाख ४८ हजार ३ सय १५ जना कोरोना संक्रमित रहेका छन् भने १८ हजार ६ सय ५५ जनाको मृत्यु भइसकेको छ।