PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

अशोकको उपचारलाई जुट्दै सहयोग, सञ्जीवले गरे पौने एक लाख हस्तान्तरण



अशोकको उपचारलाई जुट्दै सहयोग, सञ्जीवले गरे पौने एक लाख हस्तान्तरण

काठमाडौं : पेटमा समस्या देखिएपछि असार ४ बाट वीर अस्पतालमा उपचाररत अशोक घिसिङको उपचारमा सहयोग जुट्न थालेको छ।

यो अवधिमा दुईपटक अपरेसन गरिसकेका १४ वर्षे अशोकलाई औषधिका लागि मात्र दैनिक १२ हजार रुपैयाँ बढी खर्च हुने अस्पतालले जनाएको छ।

कोरोना रोकथामका लागि लगाएको लकडाउनले अशोककी आमा माया घिसिङको रोजगारी गुमेको छ। छोरालाई अस्पताल ल्याएदेखि खर्च अभावको चेपुवामा परेकी मायाको समाचार पहिलोपोस्टमा प्रकाशन भएको थियो।

सोही समाचार पढेर उनलाई सञ्जीव न्यौपानेले पौने एक लाख रुपैयाँ सहयोग गरेका छन्। मंगलवार वीर अस्पताल पुगेर उनले अशोककी आमालाई उक्त रकम हस्तान्तर गरेका हुन्।

भूकम्पले श्रीमान गुमाइन्, कोरोनाले काम : भेन्टिलेटरमा रहेका छोराको उपचारमा भौतारिँदै माया घिसिङ

समाचार पढेपछि आफूले विभिन्न सहयोगीहरुमार्फत रकम संकलन गरी अशोककी आमालाई उक्त रकम दिएको सञ्जीवले बताए।

सलील प्रधान, लिपि अमात्य, शेखर सापकोटा, भाष्कर ढकाल, पियुष दाहाल, सन्नी महत, एनी कर्ण, निश्चल मिश्र, अशिष देवकोटा, बहिनी फाउन्डेसन, सरोज, विकलदीप खड्काबाट सहयोग प्राप्त भएपछि आफूले पनि केही थप गरी उक्त रकम पीडितकी आमालाई दिन आइपुगेको सञ्जीवले बताए।

रकम पाएपछि केही राहत मिलेको मायाले सुनाइन्। 'मेरो छोरालाई अब केही हुँदैन कि,' हाँसिलो देखिइन् माया।

सहयोगी सञ्जीवको कथा बेग्लै रहेछ।

जन्मेको केही दिनमा अस्पतालको लापरवाहीका कारण सञ्जीवका छोराको अवस्था एकदम नाजुक बनेको रहेछ।

नौ महिना अस्पतला राखेर पाँचपटक अपरेसन गरेपछि उनका छोरा रिहान अहिले अशक्त बनेका छन्। अस्पतालको लापरवाहीको विरुद्धमा लड्दै हिँडेका छन् सञ्जीव।

यही कारण आफूलाई यस्तो समस्याले बिझ्ने र समाचार पढेपछि आफ्नो सञ्जालमा सहयोग मागेको उनले बताए। 'सहयोगीहरुबाट केही रकम पाएपछि ८७ हजारजति भएछ, त्यो रकम दिन पाउँदा निकै खुसी लागेको छ,' सञ्जीवले भने, 'पैसाको अभावले अशोकलाई केही नहोस्।'

चाँगुनारायण वडा २ का वडा सदस्य सोम प्रधानले पनि अस्पताल उनलाई सहयोग गरेका रहेछन्। माया श्रमिक भएको र आफ्नो स्कुलमा आशोक पढ्ने भएकोले खर्च अभाव देखेर सहयोग गरेको प्रधानले सुनाए।  उनले भने, 'शुरुदेखि नै खर्चको समस्या थियो। मैले सहयोगी नामक संस्थाको सहयोगमा ३० हजार जति खर्च दिएँ हुँला,' उनले भने, 'खर्च धेरै हुने रोग लागेको रहेछ। अझै पनि कतैबाट सहयोग जुट्ला कि भनेर खोजिरहेको छु।'

अशोक दुवाकोटस्थि गणेश आधारभुत माविमा कक्षा १० पुगेका छन्। यही विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् प्रधान। मायाको परिवारलाई अझै सहयोगको खाँचो रहेको उनले सुनाए।

अस्पतालमा आफ्नो आफन्तको उपचार गराउन आएका सुर्खेतका डिल्ली जैसीले पनि उनलाई कुरुवाहरुबाट सहयोग खोजी २० हजारभन्दा बढी सहयोग गरेका थिए।

१४ वर्षे अशोकलाई अस्पतालले बेड चार्ज लिएको छैन। तर, पेटमा पीप जमेर संक्रमण धेरै फैलिएको कारण उनलाई प्रोटिनको मात्र धेरै आवश्यक हुने भएकोले औषधिमा धेरै खर्च लागेको अस्पतालले जनाएको छ। अशोकको अवस्था सुधारोन्मुख रहेको छ।

उनकी आमा माया भन्छिन्, 'आज हात अलिअलि चलायो। खुट्टा पनि चलायो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell