चिसो सिमेन्टको भुईँमा पातलो कालो म्याट। त्यहीमाथि आफ्नो ज्यान थ्याच्च राखेर सिमेन्टकै भित्तामा अडेस लगाएकी छिन् माया घिसिङ। सेतो र कालो फूलबुट्टा भरिएको रातो रंगको कुर्था सुरुवाल हरियो सलले कपाल ढाकेकी।
दयाँतिर गुलाबी रंगको चप्पल छ। बेलाबेला उनी बायाँतिर हेरिरहन्छिन्, थोरै पर बन्द ढोकातिर। अलिकति टाउको उठाएर हेरेपछि देखिन्छ - पोस्ट अपरेटिभ वार्ड। नेपालीमा लेखिएको। अंग्रेजीमा पनि लेखिएको छ, अनि बेड नम्बर १०८ - ११८।
हो यही वार्डतिर ध्यान छ केही दिन यता उनको।
बेड नम्बर ११७। यही बेडमा लडिरहेका छन् रौतहटका १४ वर्षे अशोक घिसिङ- भेन्टिलेटरको साहारामा श्वास लिइरहेका। नाकदेखि पेटसम्म पाइप जोडिएको छ। चिरिएको पेट छोपिएको छ। जेठ २ गते पेटमा समस्या देखिएपछि वीर अस्पताल भर्ना भएका अशोक अर्घबेहोसीमा छन्।
४ गते वीर अस्पताल आइपुगेका अशोकको दुईपटक अपरेसन भइसक्यो। चार दिनदेखि भेन्टिलेटरमा छन् उनी।
अस्पतालले खर्च कति लाग्छ भनेर मायालाई जानकारी दिएको छैन।
सिकिस्त भएपछि छिमेकीको सहयोगमा छोरालाई वीर अस्पतालसम्म ल्याएकी थिइन्। 'एक जना भाइको गाडीमा ल्याए। उहाँले भाडा पनि लिनुभएन। त्यतिबेला (अशोकलाई अस्पताल) नल्याएको भए त…,' उनी केही खुसी देखिइन्।
छोराको अवस्था कस्तो छ। उनलाई थाहा छैन्।
'खै कस्तो पो छ, म त भित्र जान सक्दिनँ, छोरा धरधरी रुन्छ,' फेरि नाक बजाउँदै मुख छोप्न थालिन् उनले।
पेटमा पीप जमेपछि सबैतिर इन्फेक्सन
अशोकको उपचारमा संलग्न डा किरण पाण्डेका अनुसार उनको पेटमा पीप जमेको छ। संक्रमण छातीसम्म पुगेको छ। शरीरका विभिन्न भागबाट पानी निस्कन थालेको छ।
'उनको ज्यानमा प्रोटिनको अभावमा छ। यस्तो उपचारमा औषधि खर्चिलो हुन्छ। शरीरको सबै अंगबाट पानी आइरहेको छ,' डा पाण्डेले भने, 'पेटमा पीप जमेको हो। छातीभित्र पनि पीप जमेको छ। औषधिहरु धेरै लाग्छ।'
तर अस्पताल ल्याउँदाको दिनभन्दा अशोकको अवस्था निकै सुध्रेको डा पाण्डेले दाबी गरे। 'यहाँ आउँदा धेरै सिकिस्त थियो। अपरेसन भयो। प्रोग्रेस भइरहेको छ।'
खर्चको अभाव, भिजिटरको सहयोग
मायासँग खर्च अभाव देखेपछि सुर्खेतका डिल्ली जैसीको मन पग्लिएछ। बिरामी कुरुवा बन्न आएका उनले आफूसँग भएका केही पैसा औषधि किन्न दिए।
पछि उठाएर पनि दिएछन्।
लमजुङको सेवा सदन माविका शिक्षकसमेत रहेका जैसी भन्छन्, 'उहाँको स्थिति निकै नाजुक देखें। खान खाने खर्च छैन। छोरालाई औषधि किन्ने पैसा छैन। त्यही भएर हामीले अलिअलि पैसा उठाएर दियौं।'
खर्चको अभावमा आमाछोरा दुबैको अवस्था गम्भीर बन्दै गएको उनले सुनाए। अस्पतालमा तिर्नुपर्ने कति बिल अझै बाँकी छ मायाको।
भूकम्पले श्रीमान, कोरोनाले काम गुमाइन्
पीडा माथि पीडा थपिँदै गएको छ उनीमाथि।
कपाल ढाकेको सलले मुख छोपिन्। सुक्सुकाइन्। त्यही सलले आँशु सुकाइन्। अनि त्यही सुकेका आँशुतिर हेर्दै भनिन्, 'मेरो आफन्त सबै भात खाने बेलामा मर्यो।'
सिन्धुपाल्चोक बाह्रबिसे मनेश्वारा माइती। रौतहटको गाइटार घर। मनेश्वारा गएकै बेला २०७२ वैशाख १२ को भूकम्पमा श्रीमानको मृत्यु भयो। श्रीमानको मृत्युपछि एक्लै तीन सन्तानको जिम्मेवारी समाल्दै आएकी छन्।
तीन महिना भयो कोठा भाडा तिर्न सकेको छैन। अस्पतालमै पनि भोकै सुत्छिन् उनी। भन्छिन्, 'कसैले दियो भने खान्छु।'
अशोकको घर जाने चाह
'म मरेपनि घरमै मर्छु,' आमासँग यसै भन्छन् अशोक।
कक्षा १० पुगेका अशोकको पढाईप्रति उस्तै चिन्ता छ मायालाई।
'स्कुलबाट कहिले आउँछ भनेर सोध्छ। सँगैको साथी पढ्न थालिसकें,' बाहिरबाटै ढोकातिरै हेरेर नाक बजाउँदै आँखा छोपिन् मायाले, 'नौ पास भएर १० मा पुगेको।'
फोटो साथैमा…
जेठा छोरा बिरामी भएपछि २० दिन यता चैन छैन ४३ वर्षे मायालाई। ज्यान सुकेर पातलो भएको छ।
भूकम्पले श्रीमान गुमाइन्, कोरोनाले जागिर, वीर अस्पतालको भेन्टिलेरमा १४ वर्ष छोरा जोगाउन भौतारिँदै माया। आमासँग पैसा छैन घर लैजाउन घरमै मर्छु भन्छन् छोरा। https://pahilopost.com/content/20200706114208.html
Posted by PahiloPost on Sunday, July 5, 2020
भक्तपुरको दुवाकोटमा बस्छिन् उनी। काम इटाँ बोक्ने। कहिले घर बनाउने ठाउँमा। कहिले इँटा भट्टामा।
कोरोना महामारीसँगै भएको लकडाउनले उनको आम्दानी ठप्प छ। यही बेला छोराको पेटमा संक्रमण फैलिएको छ।
घरमा एक छोरा र एक छोरी छन्। छोरी सात कक्षामा पढ्छे। कान्छो दुई कक्षामा पढ्छ।
अस्पताल आए यता उनीहरुको हालत कस्तो छ? मायालाई यही पनि पिरलो छ- 'घरमा सानो छोरी र छोरा छ, उनीहरुलाई त्यतै साथीकोमा छाडेकी छु।'
'तिमीसँग पैसा छैन। मलाई घरमै लैजाउ। मरे पनि घरमै मर्छु भन्छ,' उनका गला अवरुद्ध भए, 'भेट्न जान मन लाग्छ। तर भेट्न जाँदिनँ। रुन्छ। बाबुको पीडा देख्नै सक्दिनँ।'
हातमा हरियो झोला छ। झोलिभत्र डाक्टरका प्रेस्कृप्सन, औषधीका। यिनै कागजबीचमा स्मार्ट फोन- अशोकको। प्याटर्न लक छ खोल्न आउँदैन उनलाई। नम्बर पनि थाह छैन।
कागज पल्टाउँदै एउटा अटोसाइजको फोटो निकालिन्। अनि घुक्का घुक्का गर्न थालिन्, 'छोरा, यही फोटो हेरेर बस्छु।'