![आफन्तकहाँ गएकाहरु बचे, घरमै बसेका एकै परिवारका तीन जनाको चाहिँ मृत्यु](https://pahilopost.com/assets/upload/contentthumb/लमजुङ_पहिरो.jpg)
काठमाडौं : लम्जुङको बेसीशहरमा पहिरोले घर पुरिँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ।
रातिदेखि आएको अविरल वर्षा र पहिरोका कारण बेसी शहर नगरपालिका वडा नम्बर ७ सातबिसे भन्ने ठाउँमा गएको पहिरोले तामाङ परिवारका तीन जनाको मृत्यु भएको हो।
श्रीमान दीपक तामाङ, श्रीमती विमाया र उनीहरुको ९ वर्षीय छोरो छेवाङको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए।
'ब्लकले बनाएको एकतले घर रहेछ। राति करिब १२ बजेतिर आएको पहिरोमा परेर तीन जनाको मृत्यु भयो,' प्रजिअ शर्माले भने।
तामाङको परिवारमा दीपकका बुबा आमा र छोरी पनि बस्दै आएका थिए। तीनै जना बिहीवार आफन्तको घरमा पाहुना लाग्न गएका थिए। सोही घरमा भाडा गरी बस्ने अन्य तीन जना भने सामान्य घाइते भएका छन्। अहिले पनि अविरल वर्षा र पहिरो आउने क्रम भने रोकिएको छैन।
नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई उद्धारका लागि परिचालन गरिसकेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए।