PahiloPost

Sep 19, 2024 | ३ असोज २०८१

पार्टी फुटाउन ओलीले एमाले दर्ता गराएको प्रचण्डको आरोप, आडम्बर देखाए पतन हुने नेपालको चेतावनी



पहिलोपोस्ट

पार्टी फुटाउन ओलीले एमाले दर्ता गराएको प्रचण्डको आरोप, आडम्बर देखाए पतन हुने नेपालको चेतावनी
फाइल फोटो

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गराएर पार्टी एकतामाथि खेलवाड गरेको आरोप लगाएका छन्। शुक्रवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ स्मृति सभामा आयोजित सभामा प्रचण्डसहित अर्का नेता माधव नेपालले ओलीलाई आडम्बर देखाइरहे पतन भएर जाने चेतावनी दिए।

'पार्टी संकटमा छ। बैठक चल्दाचल्दै केपी ओलीको सक्रियतामा एमाले दर्ता भएको छ,' प्रचण्डले भने।

सरकारले नै सडकमा जिन्दावाद र मुर्दावादको नारा लगाएर एकता संकटमा पारेको उनको आरोप थियो। पार्टीका वरिष्ठ नेता नेपालसहितका नेताहरुसहित मञ्चमा उपस्थि प्रचण्ड प्रधानमन्त्री ओलीप्रति कडारुपमा प्रस्तुत भए। उनले राष्ट्रपति निवासमा जबजको तुरुप फालिएको प्रति संकेत गर्दै उनले जनताको बहुदलिय जनबाद र माओवाद जिन्दाबाद भन्ने नारा लगाए एकता नरहने चेतावनी दिए। बैचारिक विषयमा पार्टीमा बहस हुनसक्ने उनको भनाई छ। उनले जबजको अत्तो थाप्नु पार्टी फुटाउनु नै भएको बताए।

'जबजका आधारमा समाजवाद उन्मुख भनिएको छ। माओवाद र जबज जिन्दावाद भनियो भने एकतालाई तोडमोड गरिएको ठहरिन्छ। त्यसो नगरौं हामी पार्टीमा छलफलमा जुटिरहेका छौं। पार्टी भनेको विचार र विधि हो। कम्युनिष्ट पार्टी भनेकै विचार हो,' उनले भने।

उनले सामुहिक नेतृत्व नमाने एकता अघि बढनै नसक्ने बताए। पार्टी एकता प्रक्रियाका काम बाँकी नै भएकाले अहिले सामुहिक नेतृत्व मान्न आवश्यक रहेको बताए।  'सामुहिक नेतृत्वलाई मानेनौँ भने एकता अघि बढ्दैन। पदको निम्ति लुछाचुडी जस्तो देखिएको छ। सामाजवादको अर्थतन्त्र कस्तो हुने भन्ने बहस रियलमा चलिरहेको बहस हो,' उनले भने 'पार्टीलाई विभाजन हुन दिने छैन। पार्टी विचार पनि अझ स्पष्ट भएर आउने छ। हामी कोही आत्तिनु पर्दैन।'

कार्यक्रममा नेता प्रचण्ड र नेता नेपालले एकै स्वरमा ओलीविरुद्ध धावा बोले। दुबै नेताहरुले नेता माधवकुमार नेपालले बहुमतको निर्णय मान्नुपर्ने बताएका छन्। उनीहरुले केपी ओलीले पार्टी एकतामा कुठाराघात गरेको भन्दै सामुहिक नेतृत्वअनुसार अघि नबढे एकता नबच्ने टिप्पणी गरेका हुन्। केपी ओलीले मंसिरमा महाधिवेशसन गर्ने एजेण्डा अघि सारेकोमा प्रचण्ड सहमत भएको भन्ने चर्चा चलिरहेका बेला प्रचण्ड- नेपालले भने बहुमतको निर्णय मान्नुपर्ने चेतावनी दिएका हुन्।

चोचोमोचो मिलाएर एकता भएको होइन

नेकपाभित्रको आन्तरिक कलह सतहमा आइरहेका बेला प्रचण्डले निकै मेहनत गरेर पार्टी एकता गरेको कार्यकर्तालाई स्मरण गराए। 'पार्टीभित्र संघर्ष भइरहन्छ। एकता निश्चित विचार मुल्य मान्यतामा गर्ने हो। चोचोमोचो मिलाएर एकता हुने होइन,' उनले भने।

संघर्ष गर्दै जादा पार्टी फुटाउन पनि सक्ने उनले बताए। अहिले नेकपा भित्र देखिएको विवादलाई २००८ सालपछि विकसित भएको घटनाक्रमसँग तुलना गर्दै उनले नीति एउटाको र नेतृत्व अर्कैको भइरहेको बताए। २००८ सालमा पुष्पलालाई महासचिवबाट हटाइनु, २०१० मा महासचिव हुनबाट रोकिनु र २०१४ सालमा बिचार सिदान्त पारित पुष्पलालको हुनु र नेतृत्व अरुकै हुनुसँग अहिलेको सन्दर्भ मिलेको उनको भनाइ थियो।

थुप्रै कार्यकर्ताको मनमा अब पार्टी एकता बच्छ की बच्चैन? अब के हुन्छ? भन्ने प्रश्न रहेको र त्यो आफूले बुझेको प्रचण्डले बताए।

'कार्यकर्ताको मनको कुरा अनुभुत गर्छौं। हामीले चुनावमा जाँदा हामीले यस्तो देश दिन्छौं। सुशासन दिन्छौं। हामी समाजवादको आधार निर्माण गर्दै जनतालाई सेवा दिन्छौँ भनेका थियौँ। किन पुरा भएन? एकता प्रक्रिया नटुंगिदै यस्तो भ्रम पैदा किन भयो?,' उनको प्रश्न थियो।

विधिको पालना नगरिएको उनको भनाई थियो। २ वर्ष सम्म पनि केन्द्रिय कमिटी बस्न नसक्नु नै विधि मिच्नु भएको उनको तर्क छ। 'पार्टी भनेको सामुहिक नेतृत्वमा चल्ने पार्टी हो। २ वर्षमा केन्द्रिय कमिटी बस्न सकेन् ६/ ६ महिनामा बस्ने ब्यवस्था छ त्यहाँ हामी चुक्यौँ,' उनले भने।

पार्टीले सरकार चलाउनुपर्नेमा सरकारले पार्टी चलाइरहेको बताए। 'पार्टी भनेको विवेक र सरकार भनेको सत्ता हो। दुई वर्षमा सरकारले पार्टी चलाएको होकी भन्ने देखिएको छ,' उनले भने।

नक्सा प्रकाशनलाई लिएर ओलीको देवत्वकरण गरियो

उनले कार्यकारी अध्यक्षका हिसाबले बैठक बोलाएर पुसमै स्थायी कमिटी वैठकमा नक्सा निकाल्ने निर्णय गरेको दाबी गर्दै नक्सा प्रकाशन गर्न सरकारले नै ढिलाइ गरेको बताए। ‘जसले बैठक गरेर नक्सा प्रकाशित गर्ने निर्णय गरायो उ चाँही दलाल जसले नक्सा प्रकाशन गर्न तीन महिना ढिलो गर्‍यो उसको देवत्वकरण? समयमै नक्सा जारी गर्नुपर्छ भन्ने दलाल हुनै सक्दैन,’ उनले भने 'सरकारले भूमि नै फिर्ता गर्छु भन्यो। तर नक्सा प्रकाशन गर्ने काम भएन। नीति कार्यक्रम आउदा पनि परेन नीति तथा कार्यक्रमा सचिवालय बैठकबाट नक्सा राख्न भन्यौं।'

नेता नेपालले पनि ओलीले सर्वोपरी ठाने पतन हुने चेतवानी दिए। नेपालले नेतृत्वले आत्मालोचना गर्नुपर्ने बताए।

कम्युनिस्ट आन्दोलनको बारेमा दोस्रो पुस्ता चुप लागेर नबस्ने नेता नेपालको भनाई थियो। नेता नेपालले पार्टीमा विचार पद्धतिका बारेमा बहस हुनसक्ने उनले बताए। विधिको पालना गरियो भने संगठन राम्ररी सञ्चालन हुने र त्यसैमा जोड गरिरहेको उनको तर्क छ।

केहीले पार्टी फुट्यो भनेर हल्लासमेत चलाएको भन्दै नेता नेपालले नेकपा नफुट्ने दाबी गरे। 'कम्युनिस्ट पार्टी फुट्न सक्दैन। कसैले भनिहाल्यो पार्टी फुटिहाल्छ कि भनेर हामी थरथर कामिरहन्छौं। कम्युनिस्ट आन्दोलन अगाडि बढ्छ। जनताका बीचमा अनेक क्रिया प्रतिक्रिया फैलिरहेका होलान। सही कुराको प्रचार गर्ने पनि होलान। कुप्रचारको पछाडि लाग्नुपर्ने अवस्था छैन,' उनले भने।

उनले नेकपाभित्र व्यक्ति प्रमुख नहुने र नीति प्रमुख हुने बताए। बहुमतको निर्णय सबैले मान्नुपर्ने नेपालको भनाई छ।

'व्यक्ति प्रमुख होइन। नीति प्रमुख हो। सामूहिक निर्णय गर्ने र त्यसलाई सबैले मान्नुपर्छ। पार्टीको बहुमतको निर्णय सबैले मान्नुपर्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell