PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

वाग्मती प्रदेशमा सबै सवारी साधनका लागि शुरु भयो इम्बोस्ड नम्बरप्लेट वितरण



रासस

वाग्मती प्रदेशमा सबै सवारी साधनका लागि शुरु भयो इम्बोस्ड नम्बरप्लेट वितरण

काठमाडौं : सरकारले वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट वितरण शुरु गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश नम्बर ३ का भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्त रुपमा शुक्रवार टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमा यसको वितरण शुरु गरेका हुन्।

मन्त्री नेम्वाङले डिजिटल प्रविधिमा गएर स्मार्ट प्लेटका रुपमा इम्बोस्ड प्लेट देशभरका सबै सवारी साधनमा राख्ने योजनानुसार सरकारको तर्फबाट यो प्रक्रिया अघि बढेको बताए। सुरुवातमा कानुनी कारण समस्या रहेपनि अहिले यो कार्यान्वयन हुन गइरहेको उनको भनाइ छ। केही वर्षभित्रै सातै प्रदेशमा दर्ता भएको सबै किसिमका सवारी साधनमा इम्बोस्ड प्लेट राखेर व्यवस्थित गर्ने कार्य शुरु भएको छ।

उनले भने, ‘यो काममा तीव्रता दिन सबैलाई अनुरोध गर्दछु।’

मन्त्री नेम्वाङले सङ्घीयतामा गएपछि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तह तीनै तहलाई यातायातलाई व्यवस्थापनको जिम्मेवार दिएको बताए। यातायातलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न तीनै तह तदारुकताको साथ कार्यान्वयन गर्दै अगाडि बढेको उनको भनाइ छ। सबै सवारी साधनलाई चुस्तदुरुस्त राख्नका निम्ति त्यसको परीक्षण गर्ने कार्यालय स्थापना भइरहेको उनले बताए।

उनले भने, ‘सातै प्रदेशमा भेहिकल फिटनेस टेस्ट सेन्टर स्थापना गर्ने सरकारको योजना बमोजिम बुटवल र हेटौँडामा स्थापना भइसकेको छ।’

मन्त्री फुयाँलले यो नम्बर प्लेटका कारण सामाजिक अपराध कम हुने विश्वास व्यक्त गरे। सो नम्बर प्लेट लिनका लागि पहिले सवारी धनीले हालसम्मको राजश्व चुक्ता गर्नुपर्छ। विभागको वेबसाइटमा रहेको फाराम भरेर प्रिन्ट गर्न सकिनेछ। सो प्लेटका लागि फरक प्रकृतिका सवारी साधनका लागि फरक कार्यालयमा जाने व्यवस्था मिलाएको छ।

दुईपाङ्ग्रे सवारी साधनका लागि गुर्जुधारास्थित कार्यालय, तीन पाङ्ग्रे साना तथा मझौला चारपाङ्ग्रे सवारी साधनको नम्बर लिनका लागि टेकुस्थित भेहिकल फिटनेस सेन्टर जानुपर्नेछ। त्यस्तै, ठूला सवारी साधनका लागि एकान्तकुनास्थित यातायात कार्यालय र सरकारी नम्बरप्लेटका लागि विभागमा जानुपर्ने बताएको छ।

सवारी धनीले सो नम्बरप्लेटका लागि तोकिएको बैंकमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ। दुईपाङ्ग्रे सवारी साधनका लागि दुई हजार ५०० रुपैयाँ, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि तीन हजार २०० रुपैयाँ र ठूला सवारीका लागि तीन हजार ६०० रुपैयाँ राजश्व जम्मा गर्नुपर्नेछ।

सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नम्बरप्लेटवापतको रकम जम्मा गरेको बैंक भौचर र अनलाइन फाराम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा जम्मा गर्नुपर्ने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell