विराटनगर : नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले कोरोना नियन्त्रण गर्न र जनताको स्वास्थ्यप्रति प्रदेश सरकार जिम्मेवार नेदेखिएको भन्दै जनताको ज्यान बचाउने कार्य गर्न सरकारलाई आग्रह गरेको छ।
कांग्रेस प्रमुख सचेतक केदार कार्कीले आइतवार विज्ञप्ति प्रकाशित गर्दै लकडाउन अगाडि नै आफ्नो दलले कोभिड १९ को संक्रमण बढ्ने खतरा औँल्याउँदै सम्पूर्ण तयारी गर्न सरकारलाई झक्झक्याए पनि सरकारले नगरेको आरोप लगाएका छन्।
‘मुख्यमन्त्रीबाट दैनिक सामाजिक सञ्जालको भिडियोमा आएर कोरोनासँग लडिरहेको, परास्त गर्न लागेको, घेराबन्दी भइसकेको जस्ता हल्का कुरा गरी जनमानसमा भ्रम छर्ने काम भयो,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकार आफ्ना कमी–कमजोरी र भ्रष्टाचारबाट जोगिन कोभिड–१९ लाई राम्रोसँग ढालका रूपमा प्रयोग गर्न सफल रह्यो। सरकारले मिडियामा र संसदमा पटक–पटक पर्याप्त मात्रामा आइसोलेसन बेड तयारी गरिरहेको भनी दिएको अभिव्यक्ति अहिले आएर झुटो सावित भएको छ।’
मोरङको गोठगाउँको पूर्वाञ्चल विश्व विद्यालयको अस्पताल लेभल १, विराटनगरको कोशी कोभिड अस्पताल लेवल २ र धरानको वीपी प्रतिष्ठान लेभल ३ भने पनि समुदायमा संक्रमण फैलिएपछि संक्रमितलाई समेत व्यवस्थापन गर्न नसक्दा प्रदेश सरकारको काम उदाङ्गो भएको टिप्पणी विज्ञप्तिमा गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘जनताका अगाडि मुखै देखाउन नसकेर मुख्यमन्त्री लामो समयसम्म काठमाडौं बस्नुले जनताप्रति सरकार कति जिम्मेवार छ भन्ने छर्लङ्ग भएको छ। कोशी अस्पतालमा अक्सिजनसम्म नहुनु कति लाजमर्दो कुरा हो। लेभल ३ भनेको अस्पताल अझै पूर्ण निर्माण भइनसकेको र बिरामी सिकिस्त हुँदा उपचार गर्न नसक्ने र अस्पतालको गेटमै ज्यान गुमाउनु पर्ने अवस्था सृजना हुनु दुःखद कुरा हो।’
संक्रमित त परै जाओस् लक्षणसहित सास फेर्न गाह्रो परेका बिरामीलाई समेत भर्ना लिने अस्पताल नभएको र पीसीआर टेस्टको दायरा बढाउन दिएको दबाबमा सरकारको लाचारीपन उदेक लाग्ने खालको भएको कांग्रेसको भनाइ छ।
विज्ञप्तिमा प्रदेश सरकारले दैनिक हजार क्षमताको परीक्षण गर्न ल्याबको कुरा गरे पनि यसको दर बढाउन नसकेको र संक्रमितको समेत व्यवस्थापन गर्न सरकार सक्षम नदेखिएको आरोप लगाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकार केवल केन्द्रको मुख ताक्ने र संघीय सरकारजस्तै गैरजिम्मेवार र निकम्मा भएको जनताले अनुभव गरेको सजिलै अनुमान गर्न सकिन्छ। फेरि पनि सरकारलाई पीसीआरको दायरा बढाउन आइसोलेसन र भेन्टिलेटर सहितको अस्पताल तुरुन्त व्यवस्था गर्न जोडदार माग गर्दछौँ।’