विराटनगर : प्रदेश १ मा कोरोना संक्रमण बढी भएका स्थानमा आइसोलेसन केन्द्र थप गरिने भएको छ।
कोभिड १९ संक्रमण नियन्त्रणका सम्बन्धमा सामाजिक विकासमन्त्री जीवन घिमिरेको अध्यक्षतामा आज बसेको बैठकमा संक्रमण बढी देखिएका स्थानमा तत्काल आइसोलेसन केन्द्र थप गरिने निर्णय गरिएको हो।
बैठकले आइसोलेसन केन्द्र थप गर्नका लागि तत्काल योजना बनाई कार्यान्वयन गर्ने निर्णय गरेको छ। जसमा समूहगत संक्रमण नियन्त्रण गराउनका लागि लकडाउन प्रभावकारी बनाउने, सीमा सुरक्षालाई कडाईका साथ प्रभावकारी बनाइने, संक्रमण जोखिम क्षेत्रमा आवश्यक सुरक्षा सावधानी अपनाइने भएको छ।
त्यस्तै, होम आइसोलेसन र आइसोलेसन स्थलको व्यवस्थापन प्रोटोकल बमोजिम नियमित गर्ने पनि निर्णय गरिएको छ।
त्यसैगरी, लक्षण देखिएकालाई उपचारको दायरामा ल्याउने र लक्षण नदेखिएकालाई आइसोलेसन र होम आइसोलेसनमा राख्न प्रबन्ध गरिने पनि बैठकले निर्णय गरेको छ।
बैठकमा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलको उपस्थिति रहेको थियो।