PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

विराटनगर महानगरपालिकाले सुरु गर्‍यो 'होटल आइसोलेसन' एक दिनको चार्ज ११ सय



अनन्तराज न्यौपाने

विराटनगर महानगरपालिकाले सुरु गर्‍यो 'होटल आइसोलेसन' एक दिनको चार्ज ११ सय

विराटनगर : रकम तिरेर सुविधा–सम्पन्न होटलमा आइसोलेसनमा बस्न चाहने कोरोना सङ्क्रमितका लागि विराटनगर महानगरपालिकाले होटल एसियाटिकको बन्दोबस्त गरिदिएको छ।

होटल एसियाटिकका सञ्चालक पुण्य भट्टराईसित आइतवार समझदारीपत्रमा हस्ताक्षर भएसँगै त्यहाँको आइसोलेसन सञ्चालनमा आएको हो।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले होटलको आइसोलेसन सुरु भइसकेको र त्यहाँ बस्न चाहनेले जान सक्ने बताए।

प्रमुख पराजुलीका अनुसार प्रति दिनको १ हजार १ सय रुपैयाँ तिरेर वातानुकूलित कोठामा बस्न सक्नेछन्। लन्च, ब्रेकफास्ट र अन्य खानेपिउने कुरा होटलको मेनु अनुसार हुनेछ।

होटलमा आइसोलेसनमा बस्ने सङ्क्रमितलाई महानगरको स्वास्थ्य टोलीले परामर्श दिने पराजुलीले बताए। साथै कुनै सङ्क्रमितको अवस्था गम्भीर भएमा उसलाई महानगरकै एम्बुलेन्सबाट तुरुन्त अस्पतालमा लगिने छ।

होटलका सञ्चालक पुण्य भट्टराईले कुनै सङ्क्रमितले कोठामा आफू एक्लै सुविधा सम्पन्न हिसाबले बस्छु भन्ने चाहेमा उक्त सुविधा पनि न्यूनतम दरमा प्रदान गरिने जानकारी दिए।

प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले साउनको अन्तिम सातामा होटल आइसोलेसन बनाउने नीतिगत निर्णय गरेको थियो। तर प्रदेश सरकारको होटल आइसोलेसनको अवधारणा सफल भएन। यसलाई विराटनगर महानगरपालिकाले मूर्त रूप दिएको छ। प्रदेश सरकारको नीतिगत निर्णयपछि होटल आइसोलेसन बनाउने बाटो खुलेको हो।

होटल एसियाटिकमा सञ्चालन गर्न लागिएको आइसोलेसन नेपालकै पहिलो होटल आइसोलेसन भएको दाबी गरिएको छ।

विराटनगर महानगरले स्थानीय मारवाडी सेवा सदनमा ४० शय्या र झापा बैजनाथपुरमा २० शय्याको आइसोलेसन गर्दै आएको छ। एसियाटिकको आइसोलेसन तेस्रो हो।

होटल एसियाटिकमै नेपाल आयल निगम र नेपाल विद्युत् प्राधिकरणले पनि आइसोलेसनका लागि कोठा बुक गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell