PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

निधारमा मास्क लगाउने सिडिओले फेसबुकबाट हटाए फोटो, जनाए बानी सुधार गर्ने प्रतिबद्धता



राधेश्याम पटेल

निधारमा मास्क लगाउने सिडिओले फेसबुकबाट हटाए फोटो, जनाए बानी सुधार गर्ने प्रतिबद्धता

वीरगंजः बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रप्रसाद पण्डितले अगामी दिनमा मास्क लगाउने विषयमा बानी सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। अनुगमनका क्रममा पण्डितले प्रयोग गरेको मास्क निधारमा लगाएपछि आलोचना भएको थियो।

सामाजिक सञ्जाल फेसबुकमा उनले आफ्नो गल्ती स्वीकार गर्दै अगामी दिनमा बानी सुधार गर्ने प्रतिबद्धता जनाएका हुन्।

बाराको भारतीय सीमावर्ती क्षेत्रको अनुगमनको क्रममा सिम्रौनगढ क्षेत्रमा उनले मास्कले नाक मुख छोप्नुको सट्टा निधारमा लगाएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

सो अनुगमनमा मोटरसाइकलमार्फत तस्करी भइरहेको ४० बोरा रासायनिक मल बरामद भएको थियो।

बारामा करिब २ हजार ९०० जनालाई मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गरेको अवस्थामा प्रहरीले एक सय रुपैयाँ जरिवाना तिराएको थियो। जनतालाई लाग्ने नियम सिडिओलाई किन नलाग्ने भन्दै प्रश्न भएको थियो।

पण्डितले भने अनुगमनबाट फर्किने बेलामा एन ९५ मास्कले नाक थुनिएर श्वास लिन गाह्रो महसुस भएपछि मास्क माथि सारेको प्रष्टीकरण दिएका छन्।

पढ्नुस्ः मास्क नलगाउनेलाई सय रुपैयाँ तिराउने सिडिओको निधारमा मास्क, कसले गर्छ कारवाही?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell