PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

वीरगंजमा शुरु भयो प्लाज्मा थेरापीबाट संक्रमितको उपचार



राधेश्याम पटेल

वीरगंजमा शुरु भयो प्लाज्मा थेरापीबाट संक्रमितको उपचार

वीरगंज : कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको कन्भेल्सेन्ट प्लाज्मा थेरापी उपचार सेवा प्रदेश २ मा पनि शुरु भएको छ। नारायणी अस्पतालबाट सेवा शुरु भएको हो।

भदौ १४ गते अस्पतालको आइसीयू कक्षमा उपचारत एक संक्रमितको उपचार प्लाज्मा थेरापीबाट थालिएको अस्पतालका चिकित्सक डा.उदयनारायण सिंहले बताए। सर्लाही, चकरघट्टा गाउँपालिका वडा नं ३ सुन्दरपुर बस्ने ३५ वर्षीय संक्रमित युवकको उपचार यो विधिबाट शुरु गरिएको हो।

१२ गते अस्पतालको आकास्मिक कक्षमा भर्ना भएका ती युवकमा भदौ १३ गते संक्रमण पुष्टि भएपछि सोही दिन आइसीयुमा सारिएको थियो।

प्रदेश २ मा पहिलो चोटी प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गर्न नारायणी अस्पतालका स्टोर किपर दामोदर अधिकारीले रक्तदान गरेका छन्। नारायणी अस्पतालका चिकित्सकले कोरोनामुक्त भएको तथा १४ दिन बिताएका स्वस्थ युवकले अर्जेन्ट रक्तदान गर्ने फेसबुकमा अह्वान गरेको देखेपछि अधिकारी रक्तदान गर्न तयार भएका थिए।

क्रिटिकल अवस्थामा उपचार भइरहेको सर्लाहीका संक्रमितलाई आइसीयुमा ‘बिप्याप सपोर्ट’ मा राखिएको छ। उनको अवस्थामा सुधार हुने प्लाज्मा थेरापीमा संलग्न अर्का चिकित्सक डा.प्रल्हाद अधिकारीले जनाए। नारायणी अस्पतालमा यो सेवा शुरु गर्न सहयोग गरेकोमा रक्त सञ्चार केन्द्र वीरगंज परिवार समाजिक अभियन्ता प्रकाश थारुलगायत, सुरक्षा अधिकारी एवं नागरिक समाजप्रति अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जयकुमार ठाकुरले धन्यवाद दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell