नवलपरासी : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाभित्रै कोरोना परीक्षणको व्यवस्थापनका लागि युवाको समूहले जनप्रतिनिधिसहित मन्त्रीसमक्ष दबाब सिर्जना गरेका छन्।
युवाले पीसीआर मेसिन जिल्लामा कहिले आउछ? भनि उल्लेख गरिएको सन्देश जनप्रतिनिधिको मोबाइलमा एसएमएस पठाएर दबाब सिर्जना गरेका हुन्। यसरी एसएमएस पठाइएका व्यक्तिमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, प्रदेश नम्बर ५ सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कँडेललगायत रहेका छन्।
करिब दुई सय युवाले एकै साथ कोरोना घर घरमा आइसक्यो, हजुरले पीसीआर मेसिन कहिले आउँछ भनेर उल्लेख गरिएको सन्देश एसएमएसमार्फत जनप्रतिनिधिलाई पठाएका हुन्। यसैगरी, एसएमएस पठाइएका अन्यमा प्रदेशसभा सदस्य, जिल्लास्थित स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुखसहित अन्य सरोकारवालासमेत रहेका छन्।
संक्रमितको अवस्था बुझ्न घरदैलो अभियान
होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई सरकारले बेवास्ता गरेको गुनासो बढेपछि प्रतापपुर गाउँपालिकाको टोलीले उनीहरुको अवस्था बुझ्न घरदैलो अभियान सञ्चालन गरेको छ।
होम आइसोलेसनमा बसेका संक्रमित र तिनका परिवारलाई भेट्न कार्यबाहक अध्यक्ष अन्जु चौधरी, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडाका वडाध्यक्ष, स्वास्थ्य शाखा प्रमुखसहितको स्वास्थ्यकर्मीको टोली घर घरमा पुग्ने गरेको हो।
टोलीले साथमा स्वास्थ्य सावधानीका उपायको जानकारी, स्वास्थ्य लाभको पत्र र वैकल्पिक उपचार पद्धतिका लागि आयुर्वेदिक औषधि बोकेर जाने गरेको बताइएको छ। संक्रमितको स्वास्थ्य अवस्था बुझ्न, सजगताका उपाय सिकाउन र उनीहरुको मनोबल बढाउन घरदैलो गरिएको कार्यबाहक अध्यक्ष चौधरीले बताए। प्रतापपुरमा अहिलेसम्म २२ जनामा संक्रमण पुष्टि भएको छ।