सिकागोका डानियल प्रुडे एक गोदाममा काम गर्थे। पाँच सन्तानका बाबु उनी गत मार्च २३ मा आफ्नो भाइलाई भेट्न भन्दै घरबाट निस्किए। उनी मानसिक अस्वस्थता भोगिरहेका थिए। त्यसैले उनका भाइ जोयले प्रहरीलाई फोन गरेर दाइको उद्दारका लागि याचना गरे। तर प्रहरीले उनको सकुशल उद्दार गरेन। निशस्त्र रहेका अस्वेत डानियललाई नियन्त्रणमा लियो र दमन गर्यो।
घटना भएको दुई महिना पछि सार्वजनिक फुटेजले प्रहरीले गरेको दुर्व्यवहार पुष्टि गर्यो।
प्रहरीले डानियललाई नियन्त्रणा लिनुअघि उनी सडकमा अर्धनग्न अवस्थामा कुद्दै गरेको देखिन्छ। सोही समय प्रहरी पुग्छन् र उनलाई भुईंमा सुत्न निर्देशन दिन्छन्। उनीमाथि प्रहार गर्छन्। उनले भुईंमा घोप्टो परेर दुई हात पछाडि गर्दै भनेका छन् – यो त हुनु नै थियो।
बीबीसीका अनुसार त्यस समय उनले प्रहरीहरूलाई थुकिरहेका थिए। डानियलले प्रहरीलाई तत्काल आफूमा कोरोना भाइरसको संक्रमण भएको बताउँछन्। त्यसपछि प्रहरीले उनको मुख लुगाले छोपिदिन्छन्। एक प्रहरीले दुवै हात र टाउको थिच्दै र नथुक्न निर्देशन दिन्छन्।
केहीबेरमा उनी संयमित हुन्छन्। भिडियोमा एक प्रहरीले भनेको सुनिन्छ – यसलाई धेरै नै चिसो लागेको छ। एम्बुलेन्स आइपुग्नु अघि केही स्वास्थ्यकर्मी आएर उनको प्राथमिक उपचार गरेका थिए। तर, एक साता पछि अर्थात् मार्च ३० मा अस्पतालमा उपचाररत् उनको ज्यान गयो।
४१ वर्षीय डानियल प्रुडलाई प्रहरीले सडकमै रोकेर प्रहार गरेको सीसीटिभी फुटेजमा देखिएको छ। अस्वेत अमेरिकी जर्ज फ्लोयडको हत्या भएको दुई महिना पछि डानियल मारिएका थिए। यस बारे उनको परिवारले विहीवार मात्र पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
घटना भएको दिन प्रहरीलाई फोन गर्ने जोयले सम्मेलनमा भने,’दाजुको मानसिक स्वास्थ्यमा समस्या थियो। एक्लै निस्किएका उनको उद्दारका लागि प्रहरीबाट सहयोगको आशा गरेको थिएँ। तर उनीमाथि सामूहिक प्रहार भयो।’
उनले ती प्रहरी कर्मचारीविरुद्ध सजायको माग गरेका छन्।
पोस्ट मोर्टम रिपोर्टका अनुसार डानियलको मृत्युको कारण स्वास प्रस्वासमा अवरोध पुग्नु हो। रिपोर्टले पीसीपी नामक एक औषधीलाई पनि कारण बताएको छ जसको प्रयोग लट्ठ्याउनका लागि गरिन्छ।
पीडितको पारिवारिक वकिलका अनुसार प्रहरीले फुटेज उपलब्ध गराउन महिनौ लगायो जसका कारण घटना समयमै सार्वजनिक हुन पाएन।
न्यूयोर्कका प्रधान न्यायाधिवक्तकाले ‘दु:खद्’ घटना भएको बताए। भने,’अनुसन्धान भइरहेको छ। हालसम्म घटनामा संलग्न प्रहरी अधिकारीहरूविरुद्ध कारवाही भएको छैन।‘