PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

काभ्रेपलाञ्चोकका सात स्थानीय तह कोरोनामुक्त



रासस

काभ्रेपलाञ्चोकका सात स्थानीय तह कोरोनामुक्त

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकका सात स्थानीय तह हाल कोरोनामुक्त छन्। सात गाउँपालिका कोरोनामुक्त अवस्थामा छन्।

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये मण्डन देउपुर नगरपालिका तथा रोशी, बेथानचोक, तेमाल, महाभारत, खानीखोला र चौंरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन्। कुल संक्रमितमध्ये सबैभन्दा बढी ४३ प्रतिशत सक्रिय संक्रमित बनेपा नगरपालिकामा तथा सबैभन्दा कम नमोबुद्ध नगरमा एक पुरुष मात्रै रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोस्टले जनाएको छ। पोस्टका अनुसार काभ्रेपलाञ्चोकमा हालसम्म १८२ पुरुष र ११२ महिला संक्रमित भएका छन्।

सक्रिय संक्रमितमध्ये बनेपामा १२८, धुलिखेल नगरमा ३२, पनौतीमा चार, पाँचखालमा चार, नमोबुद्धमा एक, तथा भुम्लु गाउँपालिकामा दुई रहेको पोस्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए। उनका अनुुसार १११ संक्रमित निको भई उपचारपछि घर फर्किएका छन् भने १७९ विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन्। त्यस्तै, ३१ ‘होम आइसोलेसनमै उपचाररत रहेको पोस्टले जनाएको छ।

काभ्रेमा कोरोना संक्रमणबाट एक पुरुष र एक महिलाको मृत्यु भएको छ। गत असार दुई गतेदेखि काभ्रेमा संक्रमण देखा परेको थियो। झाका अनुसार पछिल्लो समय समुदायमा संक्रमण फैलिएकाले संक्रमित दर बढिरहेको हो।

‘भदौ महिनाको तथ्यांकले जिल्लामा सरदर दैनिक १० देखि १५ संक्रमित देखिन्छ,’ उनले भने।

संक्रमितमध्ये अधिकांशको ‘ट्राभल हिस्ट्री’ नदेखिएको पोस्टले जनाएको छ।

झाका अनुसार बनेपा नगरपालिका-१३ भैंँसेपाटीस्थित स्पाईनल इन्जूरी अस्पतालमा मात्रै जिल्लाको कुल कोरोना संक्रमितमध्ये ४१ प्रतिशत संक्रमित छन्। उक्त अस्पतालमा संक्रमण नियन्त्रणका लागि सातादेखि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ भने अस्पताल र स्थानीय समुदायमा कोरोना संक्रमण नियन्त्रणका लागि सार्वजनिक रुपमा सहयोगको अपिल गरिएको छ।

नयाँ संक्रमित देखिएलगत्तै ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने र स्वाब संकलन गरी रिपोर्ट नआउञ्जेल क्वारेन्टाइनमा राख्ने गरिएको झाले बताए।

उनले भने, ‘संक्रमितको सम्पर्कमा आएकाहरु स्वतःस्फूर्त पीसीआर परीक्षणको दायरामा आए कोरोना संक्रमण नियन्त्रणमा निकै सहज हुने थियो।’

उनका अनुसार ‘कन्ट्याक्ट ट्रेसिङ’मा जनप्रतिनिधिको भूमिका निकै उत्साहपूर्ण छ।

जिल्लास्थित १३ स्थानीय तहमा ९०३ शय्याको क्वारेन्टाइन तथा २०९ बेडको आइसोलेसन व्यवस्थित गरिएको छ। हाल ३० पुरुष र ३५ महिला स्थानीय तहको क्वारेन्टाइनमा बसेका छन्। त्यस्तै, ९९९ पुरुष र २०९ महिला क्वारेन्टाइनको बसाइँपछि घर फर्किएका छन्। हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२६ काभ्रेली घर फर्किएको तथा फर्कने क्रम जारी रहेको पोस्टले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell