काठमाडौं : नेपाली कांग्रेस निकट राजनीतिज्ञ तथा कूटनीतिज्ञहरूले वर्तमान सरकारले आन्तरिक राजनीतिमा बाह्य मामिला घोलेर मुलुकलाई विश्व जगतमाझ एक्ल्याउँने काम गरेको निष्कर्ष निकालेका छन्।
कांग्रेस नेता डा शेखर कोइरालाद्वारा आयोजित ‘नेपालको कूटनीति दोबाटोमा’ विषयक भर्चुअल अन्तरक्रियाका सहभागीहरुले भूराजनीतिको जटिल अवस्थामा रहेको नेपालको कूटनीतिलाई हल्का रूपमा प्रस्तुत गरेर मुलुकलाई नै असहज पार्ने काम कम्युनिष्ट नेतृत्वले विगतदेखि नै गर्दै आएको समेत बताएका छन्। वर्तमान नेतृत्वको बेलगाम बोली र कार्यशैलीले मुलुकको विश्व सम्बन्ध निकै असजिलो मोडमा पुगेको उनीहरूको ठहर छ।
कांग्रेसका नेता एवं पूर्व मन्त्री अर्जुन नरसिंह केसीले विश्वको आँखा यतिबेला नेपालमा भएको तर यहाँको नेतृत्वले यसलाई बेवास्ता गर्दै वैचारिक सम्बन्ध भएका मुलुकसँग मात्रको सहकार्यले उत्तर कोरियाको झल्को दिन सक्ने बताए। पूर्व माओवादी र पूर्व एमाले मिलेर नेकपा बनेको वर्तमान सरकार मात्र नभई दल नै बालुवाटारबाट चल्दा बालुवाटार आम जनताको नभई नेकपाको झै भएको आभास दिलाएको उनले बताए।
कांग्रेस नेता डा शेखर कोइरालाले सरकारमा रहेको दल आन्तरिक झगडामा अलमलिने र जनता भोकभोकै रहनुपर्ने अवस्था निम्त्याएको आरोप लगाए। उनले बाह्य सम्बन्ध ध्वस्त पार्ने काम भएको समेत बताए। दुईपक्षीय र बहुपक्षीय सम्बन्ध यतिबेला धुमिल बनाउने काम किन गरियो यसमा जनता चनाखो बनेको उनले बताए।
छायाँ परराष्ट्रमन्त्री समेत रहेका कांग्रेस नेता डा नारायण खड्काले कांग्रेसले कूटनीतिक मामिला र आन्तरिक विषयमा चासो देखाएर नै काम गरिरहेको दावी गरे। उनले कांग्रेस कुनै पनि सम्बन्धलाई नबिगारी विश्व मञ्चमा नेपाल सक्रिय रहनुपर्नेमा नेपालको वर्तमान नेतृत्वले त्यसतर्फ ध्यान दिन नसकेको बताए।
पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले सरकारले कूटनीतिलाई मजाक बनाएको बताए। कूटनीतिक यस्तो शैलीमा चल्दैन भन्दै उनले यस्ता विषयमा सचेत हुँदै प्रमुख प्रतिपक्षले पनि ध्यान दिनुपर्ने बताए।
अर्का पूर्व परराष्ट्र सचिव एवं राष्ट्रसंघका पूर्व उप महासचिव ज्ञानचन्द्र आचार्यले विश्व परिवेशबाट नेपाललाई एक्ल्याउने काम वर्तमान सरकारले गरेको बताए। छिमेक र शक्ति मुलुकभन्दा पनि अन्य वैचारीक धारणा मिल्ने मुलुक निकट बनाउनु दुखद भएको उनको भनाइ थियो। साना मुलुकहरूको नेतृत्व समेत गरेको नेपाल यतिबेला वर्तमान नेतृत्वकै कारण अलमलमा परेको उनले बताए।
पूर्व राजदूत डा दिनेश भट्टराईले आफ्नो अतिराष्ट्रवादको नाराले मात्र मुलुकको मुहार नफेरिने भन्दै अहिले सरकारले सबैलाई चिढाउने र आफ्नो मुलुकको भूराजनीतिक अवस्थिति बिर्सने काम गरिरहेको बताए।
दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमख निश्चलनाथ पाण्डले सार्कको अध्यक्ष समेत रहेको नेपालले कोभिडको समयमा त्यसमा काम किन गर्न नसकेको भन्दै प्रश्न गरे। भाष्कर कोइरालाले नेपाल भारत चीन सहकार्य गर्न पर्ने वर्तमान अवस्थामा नेपालको राजनीतिक असहजताले थप अन्य जटिलता थपिएको बताए।