काठमाडौं : गण्डकी प्रदेशमा थप ४९ जनामा कोभिड १९ संक्रमण देखिएको छ। गण्डकी प्रदेशका कास्की, बाग्लुङ, तनहुँ, स्याङजा, नवलपरासी र पर्वत जिल्लामा कोभिड संक्रमित थपिएका हुन्। सबैभन्दा धेरै कास्की जिल्लाको पोखरा महानगरपालिकामा १९ जना संक्रमित थपिएका हुन्।
बाग्लुङमा ९, तनहँमा ३, स्याङ्जामा १२, पर्वतमा १ र नवलपरासीमा ५ जना संक्रमित थपिएका हुन्। नवलपरासीमा थपिएका दुई जना भने २ वर्षीय र ४ वर्षीय बालक रहेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशका विनोद विन्दु शर्माले जानकारी दिए।
पोखरा महानगरपालिका-१५ का संक्रमित २३ वर्षीय महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत स्टाफ नर्स हुन्। त्यस्तै पोखरा महानगरपालिका-१९ का २२ वर्षीय पुरुष पोखरामा र पर्वतका २८ वर्षीय पुरुष कुश्मा, पर्वतमा नेपाल प्रहरीमा कार्यरत छन्।
उनीहरु सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ। अहिलेसम्म गण्डकी प्रदेशमा २ हजार ७ सय २८ जनामा संक्रमण पुष्टि भइसकेको छ।