काठमाडौं: सरकारले एम्बुलेन्सको दुरुपयोग गरेको पाइमा तुरुन्त कारवाही गर्ने चेतावनी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले एम्बुलेन्समा बिरामी मात्रै बोक्न अनुरोध गरे। उनले एम्बुलेन्स सञ्चालन निर्देशिका अनुसार चल्न देशभरका स्वास्थ्य संस्थालाई अनुरोध गरेका छन्।
एम्बुलेन्सको दुरुपयोग गरेको पाइएमा दर्ता खारेज गरिने मन्त्रालयको चेतावनी छ। उक्त संस्थाले त्यसपछि एम्बुलेन्स सञ्चालन समेत गर्न नपाउने मन्त्रालयको भनाई छ।
'एम्बुलेन्स अन्य कामका लागि प्रयोग गरिएको पाइएमा तुरुन्त दर्ता खारेज गरिने छ। भविष्यमा उक्त संस्थालाई एम्बुलेन्स सञ्चालन गर्न दिइने छैन,' उनले भने।
सरकारले विभिन्न ठाउँमा एम्बुलेन्सको दुरुपयोग भएको भन्दै यस्तो सूचना जारी गरेको हो।