काठमाडौँ: सरकारले भदौ महिनमा कोरोनाको ग्राफ ओरालो लाग्ने प्रक्षेपण गरेको थियो। स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले भदौको सुरुवातबाट कोरोना संक्रमितको संख्या ओरालो लाग्ने दाबी गरेका थिए। तर भदौमा सरकारले सोचेजस्तो भएन।
भदौमा कोरोनाको संक्रमण देशभर ह्वात्तै बढ्यो। काठमाडौँ उपत्यका त कोरोनाको ‘केन्द्र’ नै बन्यो।
भदौ ३१ गतेसम्म देशभर ५८ हजार ३२७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। यस्तै हालसम्म ३७९ जनाको संक्रमणकै कारण मृत्यु भइसकेको छ। भदौमा मात्रै संक्रमित र मृतकको संख्याले रेकर्ड राखेको हो।
भदौमा कूल संक्रमितको आधाभन्दा बढी थपिए। भदौ १ गते देखि ३१ गतेसम्म देशभर ३१ हजार ६६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
यस्तै भदौमा २७५ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ। यस महिनामा २४ हजार २११ जना संक्रमण मुक्त भए।
संक्रमितको संख्या बढ्दै गएसँगै भाइरसको संक्रमण समुदायमा नै फैलिसकेको जनस्वास्थ्यविद्हरुले बताएका छन्। विज्ञको दाबी हेर्दा उकालो लागेको कोरोना संक्रमण छिट्टै नियन्त्रणमा आउने देखिँदैन। परीक्षणको दायरा अझै बढाउनुपर्ने सरोकारवालाले जोड दिइरहेका छन्। यस्तै, कोरोनाका कारण सधैं सबै क्षेत्र बन्द राख्नुभन्दा स्वास्थ्य सतर्कता अपनाउँदै ‘न्यू नर्मल’ मा प्रवेश गर्नुबाहेको विकल्प नरहेको विज्ञहरुले बताइरहेका छन्।
यसैबीच सरकारले असोज १ गतेबाट देशभर लामो दूरीका सार्वजनिक यातायात गर्ने निर्णय गरिसकेको छ। आन्तरिक हवाइ उडान, होटल, रेष्टुराँ लगायतका केही क्षेत्र पनि असोज १ गतेबाटै खुल्दैछन्।
सरकारले निश्चित मापदण्ड पूरा गरेरमात्रै यी क्षेत्र खुला गर्ने निर्णय गरेको हो। तर देशभर आवगमन खुल्ला हुने भएको छ।
सरकारले विद्यालय, सिनेमा घर, खेलकुद क्षेत्र, मन्दिर, जात्रा पर्व जस्ता बढी भीड हुने क्षेत्रबाहेक अन्य क्षेत्र पनि विस्तारै खोल्ने तयारी गरेको छ।
एकातिर संक्रमणको ग्राफ बढ्दै छ अर्कोतिर देश खुला हुँदैछ। सरकारले स्वास्थ्य मापदण्ड भनेर भनिरहँदा काठमाडौँमा नै अहिले प्रशासनले जारी गरेको निर्देशन पालना गरिएको देखिँदैन। जनता अटेरी बन्दै गर्दा सरकारले समेत त्यसलाई रोक्न सकेको छैन।
हाल लक्षणसहितका संक्रमित र मृतकको संख्या बढ्दै गएको अवस्थामा लकडाउन र निषेधाज्ञामात्र पनि विकल्प भने होइन। त्यसलै असोज १ गतेदेखि बढ्ने मानिसहरुको भीडबाट जनता आफैँ सतर्क हुनुपर्ने देखिन्छ। साथै सरकारले पनि स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ। नत्र लकडाउन खुलेर संक्रमण बढेपछि निषेधाज्ञा गरेझैँ फेरि त्यस्तै अवस्था नआउला भन्न सकिन्न।