PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

६ दिनमै कोरोनाबाट ४२ जनाको मृत्यु, उकालो लाग्दै संक्रमित र मृतकको संख्या



सहयोग रञ्जित

६ दिनमै कोरोनाबाट ४२ जनाको मृत्यु, उकालो लाग्दै संक्रमित र मृतकको संख्या
फाइल फोटो

देश लकडाउनमा रहेको बेला असार ४ गते प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रियसभामा सम्बोधन गर्दै थिए। बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधामन्त्री ओलीले कोरोना भाइरससँग सम्बन्धित सवालमा जवाफ दिए।

‘कोरोना भाइरस भनेको रुघाखोकी जस्तै हो’ भनेका प्रधानमन्त्री ओलीले भदौको सुरुवातबाट कोरोना संक्रमितको संख्या ओरालो लाग्ने दाबी गरेका थिए।  

साउनमा कोरोनाको संक्रमण उच्च बिन्दुमा पुगेर भदौको सुरुबाट कोरोना ओरालो लाग्ने बताइरहेका उनले चाडपर्वका कारण मंसिरमा कोरोनाको ग्राफ बढ्न सक्ने आकलन समेत गरेका थिए। यतिमात्रै होइन ओलीले मंसिरको अन्तिमबाट सुरु भइ पुस या माघसम्ममा कोरोनाको ग्राफ नियन्त्रण हुन सक्ने दाबी समेत गर्न भ्याएका थिए।

आफ्नै शैलीमा बोल्दै गर्दा ओलीले कोरोनालाई हल्का रुपमा लिएको प्रस्ट हुन्थ्यो। सरकारको तयारी पनि हल्कै देखिन्थ्यो। जबकी त्यसबेलासम्म ७ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको थियो भने २२ जनाको कोभिड १९ संक्रमणकै कारण मृत्यु भइसकेको थियो। तर ओलीका लागि तीमध्ये अधिकांश मृत्यु कोभिड १९ संक्रमणका कारण भएको थिएन।

तर प्रधानमन्त्रीले के आधारमा भदौबाट कोरोना संक्रमण ओरालो लाग्छ प्रस्ट्याएनन्।

ओलीले बोलेको दुई महिनाभन्दा बढी भयो। भदौको पहिलो साता सकिन आँट्यो। तर प्रधानमन्त्रीले भनेझैँ कोरोना ग्राफ ओरालो लागिरहेको छैन। उल्टै कोरोना कहरले उकालो चढ्दैछ। ओलीले उक्त अभिव्यक्ति दिएको दिनदेखि हालसम्ममा २३ हजारभन्दा बढी संक्रमित थपिएका छन्।

साउनमा १२० दिन लामो लकडाउन अन्त्य भएसँगै केहीदिन नियन्त्रणमा देखिएको कोरोना संक्रमितको संख्या पछिल्लोपटक बढ्दै गएको छ। बिना कुनै मोडालिटी अन्त्य भएको लकडाउनको उपज संक्रमणको अवस्था थप भयावह भएको छ। 

भदौयता पनि दैनिक रुपमा संक्रमितको संख्या बढ्दै गइरहेको छ। त्यसभन्दा बढी भयावह स्थिति मृतकहरुको संख्या बढेकोले उत्पन्न भएको छ।

भदौमा कति थपिए कोरोना संक्रमित?

कोरोना भाइरसको संक्रमण रोक्न ‘लकडाउन’बाहेक अर्को उपाय पनि थिएन सरकारसँग। तर लकडाउन गरेरमात्रै परिस्थिति नियन्त्रणमा आउने पनि होइन। त्यसैले सरकारले लकडाउन अन्त्य गर्‍यो। तर बिना तयारी अन्त्य गरिएको लकडाउनको असर छिट्टै जनस्वास्थ्यमा देखिन थाल्यो। सर्वसाधरण र सरकार दुवै तर्फको लापरबाहीका कारण कोरोना संक्रमणको ग्राफ बढ्दै गयो। सँगै बढ्यो मृतकको संख्या र संक्रमणको स्वरुप।

लकडाउनको अवधिमा संक्रमित त देखिए तर अधिकांशमा कोभिडको लक्षण देखिएको थिएन। तर पछिल्लो चरणमा भने लक्षणसहितका संक्रमित नै पहिचान भइरहेका छन्। साथै मृतकहरुमा समेत लक्षण देखिन थालेको छ। यस्तो अवस्थामा समुदायमा नै कोरोना संक्रमण फैलिन सक्ने अवस्था थप बढ्दै गएको छ।

भदौ महिनाको सुरुवाती दिनहरुको कुरा गर्ने हो भने कोरोना ग्राफ घट्ने दिशातर्फ उन्मुख देखिँदैन।

भदौ १ गतेदेखि ६ गतेसम्म देशभर ४ हजार ४ ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही ६ दिनको अवधिमा मात्रै देशभर ४२ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भइसकेको छ।

भदौ १ गते देशभर ५८१ जनामा संक्रमण देखिँदा ३ जनाको मृत्यु भएको थियो। २ गते १ हजार १६ जनामा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु भयो। ३ गते ६८१ जनामा कोभिड १९ संक्रमण देखिँदा ६ जनाम संक्रमितको मृत्यु भयो। ४ गते ७०७ जनामा संक्रमण पुष्टि हुँदा ६ जनाको मृत्यु भयो।

भदौ ५ गते देशभर सबैभन्दा बढी संक्रमितको मृत्यु हुने रेकर्ड बन्यो। एकैदिन ११ जनाको मृत्यु हुँदा ८३८ जनामा संक्रमण देखियो। भदौ ६ गते ६३४ जनामा संक्रमण पुष्टि हुँदा ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उपत्यकाको अवस्था

भदौ १ देखि ६ गतेसम्ममा मात्रै काठमाडौँ उपत्यकामा पनि संक्रमितको संख्या ह्वात्तै बढ्‍यो। भदौ १ गते उपत्यकामा १६८ संक्रमित थपिँदा २ गते २०५ , ३ गते १५९, ४ गते २००, ५ गते १८२ र ६ गते २१६ जनामा संक्रमण देखियो। ६ दिनको अवधिमा उपत्यकामा १ हजार १३० जना संक्रमित थपिए। हालसम्म उपत्यकाका तीनवटै जिल्लामा ३ हजार ९६ जनामा संक्रमण देखिएको छ। यीमध्ये करिब दुई हजार एक्टिभ केस रहेको बताइएको छ।

काठमाडौँमा भाइरसको संक्रमणबाट सबैभन्दा प्रभावित बनेको छ। काठमाडौँ ७७ जिल्लामध्ये दुई हजारभन्दा बढी संक्रमित हुने एकमात्र जिल्ला बनेको छ। यहाँ २ हजार ४५३ जनामा संक्रमण देखिएको छ। यस्तै ललितपुरमा ३९९ र भक्तपुरमा २४४ जनामा संक्रमण देखिएको छ। संक्रमण बढ्दै गएसँगै उपत्यकाभर हाल निषेधाज्ञा लागू गरिएको छ।

सरकारले लकडाउन अन्त्य गरे पनि उपत्यका प्रवेशमा कडाइ गरिएको बताएको थियो। तर बाहिरी जिल्ला र भारतबाट नै लाखौँको संख्यामा मानिस निर्वाध रुपमा उपत्यका प्रवेश गरे। जसले संक्रमणको अवस्था थप बढायो।

अहिलेको अवस्था हेर्दा प्रधामन्त्रीले अनुमान गरे झैँ भदौमा संक्रमितको संख्या ओरालो लाग्नेभन्दा उकालो लाग्ने देखिएको छ।

पूर्वाधार अझै छैन

संक्रमणको ग्राफ उकालो लाग्दै गर्दै अहिले फेरि केही जिल्लाहरुमा लकडाउनसँगै निषेधाज्ञा लागू गरी संक्रमण रोक्ने प्रयास भइरहेको छ। तर पर्याप्त परीक्षण र कन्ट्याक्ट ट्रेसिङको अभावमा संक्रमण समुदायमा नै फैलिने खतरा बढ्दै गएको जनस्वास्थ्यविद्हरु बताउँछन्।

भदौ ६ गतेसम्म देशभर ३१ हजार ११७ जानमा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यीमध्ये १२ हजार ६२१ जना ‘एक्टिभ केस’ रहेको छ भने १८ हजार ३५० जना संक्रमण मुक्त भइसके। साथै देशभर कूल १४६ जनाको मृत्यु भइसकेको छ।

लक्षणसहितका संक्रमित र मृतकको संख्या बढ्दै गएसँगै सामान्य बन्ने तरखरमा रहेको जनजीवन फेरि असामान्य बन्दै गएको छ। लाखौँ जनता फेरि घरभित्रै थुनिएका छन्। तर सरकारले कोरोना परीक्षणको दायरासँगै अन्य भौतिक पूर्वाधारको दायरा समेत बढाउन सकेको छैन।

लकडाउनकै समयमा अव्यवस्थित भनिएको क्वारेन्टाइनको संख्या थप्न सकिएको छैन। काठमाडौँमा नै क्वारेन्टाइन नहुँदा संक्रमण प्रतिकूल बनेको खण्डमा अवस्था भयावह हुन सक्ने चेतावनी सरोकारवालाहरुले दिएका छन्।

संक्रमितको संख्या बढ्दै गएसँगै राजधानी काठमाडौँ र उपत्यकाभर क्वारेन्टाइनका साथै आइसोलेसन वार्डको निर्माणमा केन्द्र र स्थानीय सरकारले तयारी थालेको छ।

यता, मृतकहरुको संख्या पनि बढ्दै गएको अवस्थामा भेन्टिलेटर र आइसियू कक्ष पनि विस्तार गर्नुपर्ने माग उठेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell