PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

पहिरोको जोखिममा रहेका पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती स्थानान्तरण गर्न सिफारिस



रासस

पहिरोको जोखिममा रहेका पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती स्थानान्तरण गर्न सिफारिस
प्रतीकात्मक तस्बिर।

पर्वत : लगातारको वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती जोखिममा परेका छन्। वर्षाले पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका सातवटा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका हुन्।

नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरपालिकाका सात वटा बस्ती स्थानान्तरण गर्न संघ र प्रदेश सरकारलाई सिफारिस गरेको छ। सात वटा बस्तीका झण्डै १०० घरपरिवार जोखिममा रहेको भन्दै बस्ती नै स्थानान्तरण गर्नका लागि सिफारिस गरिएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिए।

केही दिनदेखिको लगातारको वर्षापछि नगरपालिकाभित्र पुगेको क्षतिको नगरप्रमुख र प्राविधिकसहितको टोलीले अध्ययन र अनुगमन गरेपछि बसेको विपद् व्यवस्थापन समितिको बैठकले बस्ती नै स्थानान्तरण गर्नका लागि सिफारिस गरेको हो।

नगरपालिकाको विपद् व्यवस्थापन समितिका अनुसार वडा नम्बर ४ मुडिकुवाको चुरी, वडा नंम्बर १० कुर्घाको फल्ला, वडा नम्बर २ थापाठानाको दरदरे, वडा नम्बर ३ शङ्करपोखरीकोे पुर्कोट, सोही वडाको रुग्दी र वडा नम्बर ६ देवीस्थानको राहले बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको नगरप्रमुख शर्माले जानकारी दिए। अधिकांस बस्ती सडक निर्माणका कारण जोखिममा परेका हुन्। सबैभन्दा बढी कुर्घामा २५ घर र चुरीमा २० घर जोखिममा छन्।

संघ र प्रदेश दुवै सरकारमा सिफारिस गरी पठाइएको र नगरबाट सम्बोधन हुनसक्ने जोखिमयुक्त ठाउँमा भने नगरले नै योजना बनाएर पुनःस्थापनाका कार्य अघि बढाउने शर्माले बताए। त्यस्तै, बाढीपहिरोका कारण नगरपालिकाभित्र रहेका खानेपानी, विद्युत्, सिँचाइका योजनाहरुमा पनि क्षति पुगेको छ। ती योजनाहरुलाई मर्मत गर्न सम्बन्धित कार्यालयमा माग गरी पठाउने निर्णयसमेत बैठकले गरेको छ।

अविरल वर्षाका कारण पहिरो जाँदा पहिरोमा पुरिएर गत सोमवार वडा नम्बर ४ मुडिकुवास्थित शिर्सुवामा स्थानीय नवीन विककी तीन वर्षीया छोरी निकिता विकको ज्यान गएको थियो। सोही दिनको वर्षाका कारण नगरका सबैजसो वडामा क्षति पुगेको थियो। वर्षाका कारण अवरुद्ध मुख्यमुख्य ग्रामीण सडकहरुमा निर्माणाधीन भए सम्बन्धित आयोजनालाई र अन्यमा नगरपालिकाको स्काभेटर लगाएर खुलाउने निर्णयसमेत गरेको नगरप्रमुख शर्माले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell