PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

वाइड बडी र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे अख्तियारलाई लेखाको ताकेता, प्रगति विवरण माग गर्न पत्र लेख्ने निर्णय



पहिलोपोस्ट

वाइड बडी र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे अख्तियारलाई लेखाको ताकेता, प्रगति विवरण माग गर्न पत्र लेख्ने निर्णय
फोटो : रासस।

काठमाडौं : दुई वर्षभन्दा बढी समयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधीन रहेको वाइड बडी खरिदको छानबिन प्रक्रियामा सार्वजनिक लेखा समितिले पुनः चासो राखेको छ। खरिद प्रक्रियाको अनुसन्धानको लामो समय बिते पनि कुनै परिणाम नदेखिएको भन्दै समितिले अख्तियारसँग प्रगति विवरण माग गर्ने निर्णय गरेको हो।

समितिले प्रारम्भिक छानबिनमा खरिद प्रक्रिया पारदर्शी नभएको र अनियमितता देखिएको भन्दै थप अनुसन्धान गर्न अख्तियारलाई सिफारिस गरेको थियो। उपसमिति गठन गरी प्राप्त सुझाव र प्रतिवेदनका आधारमा समितिले अख्तियारलाई छानबिन गर्न पठाएको थियो। तर, लामो समयसम्म कुनै नतिजा नआएको भन्दै समितिले प्रगति माग गरेको हो।

लेखा समितिको बिहीवारको बैठकमा सांसद मीनेन्द्र रिजालले छानबिनको अवस्थाबारे जानकारी माग गर्नुपर्ने प्रश्न गरेका थिए। सो अनुसार सभापति भरतकुमार शाहले प्रगति विवरण मागका लागि पत्राचार गर्ने निर्णय सुनाएका थिए।

यस्तै, समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाको छानबिनबारे पनि जवाफ माग गर्ने निर्णय गरेका छ। प्रेस खरिद प्रक्रियामा कमिसन बार्गेनिङ गरेको अडियो बाहिरिएपछि समितिले उक्त प्रकरणमा छानबिन गरको थियो। प्रारम्भिक छानबिनमा अनियमितता देखिएको भन्दै समितिले थप छानबिन प्रक्रिया अघि बढाउन अख्तियारलाई पत्राचार गरेको थियो।

उक्त प्रकरणमा जोडिएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा समेत दिएका थिए। पछिल्लो समय अख्तियारले उक्त प्रकरणलाई ‘तामेलीमा राख्न हतार’ गरेको भन्ने सार्वजनिक रुपमा समाचारहरु प्रकाशित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell