PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

राष्ट्रपतिले जारी गरिन् तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमनसहित तीन अध्यादेश



पहिलोपोस्ट

राष्ट्रपतिले जारी गरिन् तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमनसहित तीन अध्यादेश

 काठमाडौं : राष्ट्रपति विद्यदेवी भण्डारीले तीनवटा अध्यादेश जारी गरेकी छिन्। सोमवार तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशसहितका तीन अध्यादेश स्वीकृत गरेकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेश जारी गरेकी हुन्।

एसिडसँग सम्बन्धित अध्यादेशसँगै फौजदारी कसूर तथा फौजदारी कार्यविधीसम्बन्धि केही संशोधन गर्ने अध्यादेश, २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश जारी गरेकी हुन्।

गत बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमणको पिडकलाई कडा कार्बाही गर्नेगरी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

अध्यादेश अनुसार एसिड प्रहारबाट शरीरको कुनै पनि अंगमा पूर्ण क्षति पुगेमा २० वर्षसम्म कैद र दश लाख रुपैयाँ जरिवाना हुनेछ। अनुहारको कुनै भागहरु नाक, कान, आँखा तथा अन्य कुनै अंग पूरै क्षति भएमा सो सजाय हुनेछ।

यस्तै, महिलाको यौनाङ्ग तथा स्तनमा क्षति पुगेमा पनि २० वर्ष कैद र दश लाख रुपैयाँ जरिवाना नै हुनेछ।

एसिड प्रहारबाट शरीरको कुनै अंग जलेमा, हात खुट्टामा क्षति पुगेमा टाउको वा मेरुदण्डको कुनै भाग जलेमा पनि २० वर्ष कैद सजाय हुनेछ। यस्तै, कसुरदारलाई सात लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिवाना समेत हुने प्रावधान राखिएको छ।

एसिड प्रहारबाट शरीरको कुनै भागमा क्षति पुगेमा, अंगभंग भएमा कसुर हेरेर पाँचदेखि दश वर्षसम्म कैद हुनेछ। यस्तो अवस्थामा कसुरदारलाई एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना पनि हुनेछ। एसिड प्रहार गर्ने आक्रमणकारीलाई सहयोग गर्नेलाई दश वर्षसम्म कैद र पाँच लाख रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ।

एसिडको कारणबाट कोही व्यक्तिको ज्यान गएमा ज्यान मारे सरह जन्मकैद सजाय हुने लगायतका विषय यो अध्यादेशम समेटिकएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell