काठमाडौं : सरकारले डा गोविन्द केसीलाई अनशन तोड्नका लागि आग्रह गरेको छ। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बिहीवारको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै अहिले अनसन बस्न उपयुक्त समय नभएको बताए।
‘देश यत्रो संकटमा छ। कोरोनाका विरुद्ध जनतालाई जोगाउने अभियानमा जाँदै गर्दा आज मात्रै हामीले एक चिकित्सकलाई गुमाएका छौं। एकातिर चिकित्सकहरु, सुरक्षाकर्मीहरु जनतालाई कसरी जोगाउन सकिन्छ भनेर लागि रहनु भएको छ,’ उनले भने।
प्रवक्ता ज्ञवालीले थपे, ‘यो असामान्य अवस्थामा अनसन, सत्याग्रह, धर्ना, हडताल बेला सुहाँउदो विषय हो र? पक्कै पनि होइन्। केही विषय बाँकी छन् भने पछि छलफल गर्न सकिन्छ। मेरो र सरकारको तर्फबाट आग्रह छ, अनसन फिर्ता लिएर हामी कोभिड-१९ विरुद्ध जोडियौ, जनतालाई महारीबाट जौगाऔं।’
प्रवक्ता ज्ञवालीले डा केसीले उठाएका मागहरु पूरा भएको र कार्यान्वयनमा पनि गएको बताए। उनले केसीले उठाएको महत्वूर्ण माग पूरा भएको पनि बताए। डा केसी केही दिन यता त्रिवि शिक्षण अस्पतालमा विभिन्न माग राखेर अनसन बसिरहेका छन्।