काठमाडौँ: प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल कोरोना भाइरसको संक्रमणमुक्त भएका छन्। रिमालले बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो दोस्रो पीसीआर परीक्षण नेगेटिभ आएको बताएका हुन्।
सतर्क रहँदा-रहँदै पनि कसरी संक्रमित भएको भन्दै उनले कुनै अप्ठ्यारो महसुस नगरी आइसोलेसनको अवधि पार गरेको बताए।
उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘कोरोना केही होइन भन्नु अतिरञ्जना हो। र, कोरोना लागेपछि सिद्दियो भन्नु त झनै उत्तेजनापूर्ण अफवाह हो। तरिका पुर्याउँदा यो महामारीको असर अति न्यून हुन्छ। लापरबाहीमा ज्यानै जान्छ। त्यसैले यस महामारीले पहिलो कुरा, अनुशासनको माग गर्छ। दोस्रो संक्रमितको उच्च मनोबल र तेस्रो धैर्यताको माग गर्छ।’
यस्ता बेलामा आउने सल्लाह र सुझाव पनि रंगीविरङ्गी हुने भन्दै उनले चिकित्सकीय वा अन्य विश्वासिलो सल्लाह पालना गर्नुपर्ने बताए। विभिन्न खालका सुझावको पछि नलाग्न उनको सुझाव छ।
आफूले आयुर्वेदिक औषधि प्रयोग गरेको पनि उनले जानकारी दिए।
उनले भने, ‘हामी खिसिट्युरी गर्न मज्जा मान्छौँ। तर, पत्याउनु हुन्छ? मैले त त्यही बेसार, कागती, गुर्जो, अदुवासहितको पानी प्रसस्त पिएँ।’
मेरो पिसिआर रिपोर्ट नेगेटिभ आयो सहयोग, ऐक्यवद्धता र शुभेच्छाको लागि सबैमा हार्दिक आभार ! कोरोनाको अनुभव...
Gepostet von Bishnu Rimal am Donnerstag, 8. Oktober 2020