PahiloPost

Jul 3, 2024 | २० असार २०८१

बोक्सी भन्दै छोराले कुटपिट गर्दा एक वृद्धाको मृत्यु



रासस

बोक्सी भन्दै छोराले कुटपिट गर्दा एक वृद्धाको मृत्यु

लहान : बोक्सी भन्दै छोराले कुटपिट गर्दा सिरहाको कर्जन्हा नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ। छोराको कुटाइबाट घाइते ७५ वर्षीया सुदामादेवी साह सोनारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गत मंगलवार कान्छो छोरा रामअवतार साहको कुटपिटबाट घाँटीमा गम्भीर चोट लागेर घाइते सुदामादेवीको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बोक्सीको आरोपमा कुटपिट गरी आमाको हत्या गरेको अभियोगमा रामअवतारलाई पक्राउ गरिएको र उनीमाथि कानूनी कारबाही अघि बढाइएको प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले जानकारी दिए।

होटल सञ्चालकसहित तीन पक्राउ

अवैध यौनजन्य कार्यमा संलग्न रहेको अभियोगमा सिरहाको गोलबजार नगरपालिका-६ स्थित एक होटल सञ्चालकसहित तीन जनालाई आइतवार प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले विकास होटल एण्ड लजका सञ्चालक रामसुन्दर साह र अन्य दुई महिलालाई पक्राउ गरेको हो। बाहिरबाट होटलमा महिलालाई बोलाएर अवैध यौनजन्य कार्यमा लगाउने गरेको गोप्य सूचनाका आधारमा होटलबाट सञ्चालक साह तथा दुई महिलालाई पक्राउ गरिएको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

होटलमा ग्राहक आएपछि होटल सञ्चालक साहले यौनकर्मीलाई फोन सम्पर्क गरी बोलाएर ग्राहकसँग अवैध यौनजन्य कार्य गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक राईले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell