PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

घुस लिएको अभियोगमा सशस्त्र प्रहरी जवान पक्राउ



रासस

घुस लिएको अभियोगमा सशस्त्र प्रहरी जवान पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौशाला नगरपालिका महोत्तरी रामनगरस्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहानलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ। प्रहरी जवान चौहानलाई घरायसी प्रयोजनका लागि दाउरा लैजान सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १७ हजार ६०० रुपैयाँ घुस लिएको अभियोग लागेको छ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले चौहानलाई गौशाला नगरपालिका-२ निगौलचोकबाट पक्राउ गरेको हो।

यस्तै, आयोगले प्रहरी चौकी तिलाठी सप्तरीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर कानुले ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ। बरामद गरी चौकीमा राखिएको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको अभियोग उनलाई लागेको छ। आरोपी कानुलाई तिलाठी कोइलाठी गाउँपालिका १ बेल्हीबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ।

उनलाई दुई साता अगाडि खाद्यान्नसहित बरामद मोटरसाइकल छाड्ने शर्तमा सेवाग्राहीसँग पटकपटक घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा सेवाग्राहीबाट लिएको ५० हजार रुपैयाँसहित पक्राउ गरिएको आयोगको इटहरी कार्यालयले जनाएको छ।

‘स्ट्रिंग अपरेसन’ भइरहेको र अन्य विस्तृत विवरण आउन बाँकी रहेको आयोगको इटहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले बताए। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनेश्वर साहले आयोगको इटहरी कार्यालयले स्ट्रिंग अपरेसनको सहजीकरणका लागि सहयोग माग गरेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नेतृत्वको टोली भन्सार कार्यालय पठाइएको बताए।

दुई मतियार पक्राउ

आयोग इटहरीको टोलीले सप्तरीबाट प्रनानि कानुका दुई मतियारलाई पनि पक्राउ गरेको छ। सेवाग्राहीबाट लिएको ५० हजार रुपैयाँ प्रनानि कानुले प्रहरी जवान रामेश्वर यादवलाई नजीकैको जयनारायण यादवको किराना पसलमा लगेर राख्न लगाएको खुलेपछि टोलीले तीनै जनालाई पक्राउ गरेको आयोगका प्रवक्ता अधिकारीले बताए। प्रहरी जवान रामेश्वर र व्यापारी जयनारायण मतियारका रुपमा पक्राउ परेका हुन्।

दुई साता अगाडि खाद्यान्न समानसहित बरामद मोटरसाइकल छाडन सेवाग्राहीसँग पटक-पटक घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा सेवाग्राहीबाट लिएको ५० हजार रुपैयाँसहित तीनै जना पक्राउ परेको आयोगको इटहरी कार्यालयले जनाएको छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि सुनसरीको इटहरीस्थित कार्यालय लगिएको छ।

प्रहरी चौकी तिलाठीमा राखिएको मोटरसाइकल छाड्ने प्रक्रिया मिलाएर लेखिएको कागजसमेत टोलीले फेला पारेको छ। आयोगको टोली कार्यालय प्रवेश गर्नासाथ प्रनानि कानुले हतारहतार उक्त कागज च्यातेर मिल्काएको अवस्थामा फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell