काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा मागेको सुन्नमा आएको भन्दै राजीनामा नदिने प्रस्ट्याएका छन्। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।
'सञ्चार माध्यममा हल्ला आउँछ राजीनामा दिन पस्यो। तर, तपाईँहरु बिचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ? राजीनामा दिन मिल्छ?,' उनले प्रश्न गर्दै अगाडि भने, 'मेरो लागि होइन, देशको लागि हो। मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिनेवाला छैन।'
उनले आफूले राजीनामा नदिने कुरा पटक पटक दोहोर्याइरहेको समेत बताए।
'मैले रिपिटेड्ली भन्या छु। फेरि केहीले खोई त राजीनामा भन्दै मागिरहेका छन् भन्ने सुन्छु है। तयारी गर्दै छन्। यो तयारी अन्तिममा के हुनेछ... केही पनि हुनेवाला छैन,' ओलीले भने।
उनले आफ्नो रहरले प्रधानमन्त्री नभएको भन्दै जनताको आवश्यकता र समर्थनले भएको दाबी गरे।
'यहाँ पुर्याएको म जालझेल तिकड्मबाट होइन। यहाँ पुगेको ब्यापक जन समर्थनबाट हो,' प्रधानमन्त्री ओलीले भने, 'त्यसकारण तपाईँहरु ढुक्क भएर काममा लाग्नुस्। यो सरकार यस्तो हुन्छ कि फेरिन्छ कि बदलिन्छ कि।'
उनले आफूलाई हटाउन धेरै प्रयासहरु भइरहेको संकेत पनि गरे।
'धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिसहरु गरे। भित्र बाहिर अनेकथरीका कोसिसहरु आए। जे मा पनि आलोचना गर्ने त्यसप्रकारका प्रवृतिहरु छन्। त्यसबाट प्रभावित नहोउँ। केही केहीको यो अस्थिरताको खेती धेरै गर्ने, देशलाई अस्थिरता तर्फ धकेल्न खोज्ने प्रयासहरु गर्ने आदत छ कि? एडिक्ट भएका छन् कोही। यस्तो एडिक्सनलाई म के भनुँ। तर देशमा स्थिरताका लागि हामी काम गर्छौँ। स्थिरता विकासका लागि हो। जनताको जीवनमा परिवर्तनका लागि हो,' उनले कोभिडसँगको लडाइ जित्नेसमेत दाबी गरे।
यसअघि पनि उनले यस्तै गरी विरोधाभाषपूर्ण अभिव्यक्ति दिएका थिए।
भारतले आफूलाई हटाउन खोजेको र यो खेलमा नेपालका नेताहरु पनि लागेको अभिव्यक्ति दिएका थिए।
मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले गरेको कार्यक्रममा उनले भनेका थिए- ‘तपाईंहरूले पनि सुन्नु भएको होला, हप्ता/१५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ भनिँदैछ। भारतका मिडिया सुन्नु भएको होला, भारतका बौद्धिक बहसहरू सुन्नु भएको होला। कसरी भारतको राज्य संयन्त्र सक्रिय छ …।’
उनको यो अभिव्यक्तिलाई लिएर सत्तारुढ दलभित्र चर्को आलोचना भएको थियो। स्थायी कमिटीको बैठकमै उनले आत्मालोचना गर्नुपर्ने वा हटाउन सक्रिय भारतीय दूतावाससँग स्पष्टिकरण सोध्न आवाज उठेको थियो।
अहिले नेकपाभित्र चर्को विवाद उठिरहेको छ। पार्टी फुटको कुरा पनि उठिरहेको अवस्थामा पुन: ओलीले राजिनामाको असान्दर्भिक प्रसंग कोट्याएका हुन्।