आईपीएलको सर्वाधिक सफल टोली मुम्बइ इण्डियन्स र जारी सिजन राम्रो प्रदर्शन गरेको दिल्ली क्यापिटल्स आज क्वालिफायर्समा भिड्दै छन्। जारी सिजनमा बलियो प्रदर्शन र बेन्चसमेत बलियो रहेका यी टोली आज दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा साँझ पौने ८ बजे प्रतिस्पर्धामा उत्रने छन्।
आजको खेलमा जित निकाल्ने टोलीले ९ नोभेम्बरमा हुने आईपीएल फाइनल स्थान बनाउने छ भने पराजित हुने टोलिले पनि फाइनलमा पुग्नका लागि इलिमिनेटरको विजेता टोलीसँग अर्को क्वालिफायर्स खेल्ने मौका पाउने छ। यद्यपि दोस्रो क्वालिफायर्सको बाटो रोज्न भने दुबै टिम चाहँदैनन्। इलिमिनेटरमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्ग्लोर भिड्ने छन्।
आईपीएलमा चार पटक च्याम्पियन बनिसकेको मुम्बइले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो। यद्यपि अन्तिम खेलमा भने फितलो प्रदर्शन गर्दै हैदराबादसँग पराजित भएको थियो। अर्कोतर्फ लिग चरणको आफ्नो अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराउँदै दिल्लीले आफ्नो स्थान सुरक्षित गरेको थियो। यस अर्थमा दिल्ली उच्च मनोबलका साथ उत्रने छ।
यद्यपि लिग चरणका दुबै खेलमा मुम्बइले दिल्लीलाई हराएको थियो। दिल्ली र मुम्बइले आजसम्म २६ वटा खेल खेलेका छन्। जसमा १४ वटा मुम्बइले र १२ वटा खेल दिल्लीले जितेका छन्।
आजको खेलमा मुम्बइका लागि राम्रो पक्ष भनेको लिग चरणका केही खेलहरु गुमाएका कप्तान रोहित शर्मा पनि टिममा रहनेछन्। यसअघि हैदराबादसँगको खेलबाट उनले टीममा पुनरागमन गरेका थिए तर उनको ब्याटिङ जम्न सकेको थिएन। त्यस्तै हैदराबादसँगको खेलमा मुम्बइका बलरहरु विकेट लिन असफल भएका थिए।
मुम्बइको ब्याटिङमा जारी सिजन क्विन्टन डी ककले सर्वाधिक ४४३ रन बनाएका छन्। त्यस्तै इसान किसनले ४२८ र सूर्यकुमार यादवले ४१० रन बनाएका छन्। त्यस्तै बलर तर्फ जसप्रित बुमाराहले सर्वाधिक २३ विकेट लिँदा ट्रेन्ट बोल्टले २० र राहुल चहरले १५ विकेट लिएका छन्।
अर्कोतर्फ दिल्लीको ब्याटिङ भने सीमित खेलाडीमा निर्भर देखिन्छ। यस्तो अवस्थामा अजिक्य रहाणेले पछिल्लो खेलको प्रदर्शन हेर्दा दिल्लीलाई राहत मिल्न सक्छ। दिल्लीको सबैभन्दा ठूलो चिन्ता भनेको पृथ्बी श र ऋषभ पन्तको फर्मको हो। जारी सिजन उनीहरुको प्रदर्शन अपेक्षाकृत रहेको देखिँदैन। त्यस्तै विदेशी खेलाडी मार्कस स्टोइनिस र सिमरोन हिटमायरको प्रदर्शनले पनि दिल्लीको खेलमा ठूलो अपेक्षा राख्छ।
दिल्लीका लागि शिखर धवनले जारी सिजन सर्वाधिक ५२५ रन बनाउँदै उच्च लयमा छन्। त्यस्तै कप्तान श्रेयस ऐय्यर ४२१ रन बनाएका छन्। त्यसबाहेकका ब्याट्समेनहरुले उल्लेखनिय प्रदर्शन गर्न सकेका छैनन्।
दिल्लीको बलरतर्फ कागिसो राबाडाले सर्वाधिक २५ विकेट लिँदा एनरिच नोर्टजेले १९ र रविचन्द्रन अश्विनले १० विकेट लिएका छन्। नेपाली स्पिनर सन्दीप लामिछानेले जारी सिजन मौका पाएका छैनन्।