PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

कोरोनाले खेल ठप्प हुँदा प्रभावित बनेका खेलाडीलाई ह्याण्डबल संघको नगद सहयोग



रासस

कोरोनाले खेल ठप्प हुँदा प्रभावित बनेका खेलाडीलाई ह्याण्डबल संघको नगद सहयोग

कास्की : नेपाल ह्याण्डबल संघले कोरोनाबाट प्रभावित खेलाडीलाई राहतस्वरुप नगद सहयोग प्रदान गर्ने भएको छ। कोरोनाका कारणले विगत सात महिनादेखि खेलकुद गतिविधि बन्द हुँदा प्रभावित बनेका खेलाडीलाई राहत प्रदान गर्ने निर्णय गरिएको संघका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङले बताए।

ह्याण्डबल खेलको विकासमा योगदान गर्ने पूर्व अन्तर्राष्ट्रिय खेलाडी धनुषाका पवनलाल कर्ण, उदयपुरका मातृका राई, सुर्खेतका भुवन शाही, सशस्त्र प्रहरीबलमा कार्यरत अन्तर्राष्ट्रिय खेलाडी सन्दीप कार्की र ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी सिरहाका रञ्जित सिंहलाई नगद सहयोग गरिने संघले जनाएको छ।

राष्ट्रिय खेलाडीलाई १५ हजार रुपैयाँ तथा अन्तर्राष्ट्रिय खेलाडीलाई जनही २० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइने बताइएको छ। पूर्व अन्तर्राष्ट्रिय खेलाडी कर्णलाई नगद ५० हजार रुपैयाँ प्रदान गरिने भएको छ। निजी विद्यालयमा कार्यरत उनको जागीर गुमेकाले सो सहयोग गर्न लागिएको संघका सचिव केशव पाठकले बताए।

उनले भने, ‘कोरोनाबाट प्रभावित खेलाडीहरुलाई राहतका लागि हामीले आह्वान गरेका थियौँ जसमा पाँच खेलाडीले सहयोग माग्नुभएको छ। केही दिनभित्रमानै जिल्लास्थित संघ तथा केन्द्रीय सदस्यहरुमार्फत खेलाडीलाई राहत रकम प्रदान गर्छौँ।’

कोरोना संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि संघले यसअघि महिला तथा पुरुष खेलाडी तथा रेफ्री गरी १८० जनाको कोरोना बीमा गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell