काठमाडौं : नेपाल प्रहरीले काठमाडौंको मुख्य प्रवेशद्धार नागढुङ्गाबाट ठूलो मात्रामा पटाका बरामद गरी नष्ट गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले तिहारका लागि काठमाडौं उपत्यका भित्र्याउँदै गरेको दुई लाख ७६ हजार थान पटाका बरामद गरी शुक्रवार नष्ट गरेको हो।
महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको ना ४ ख ४५५ नम्बरको यात्रुबाहक बसमा चेकका क्रममा बसको सिटमुनी लुकाएर ल्याएको अवस्थामा १० बोरा पटाका प्रहरीले बरामद गरेको हो। वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले १४ लाख रुपैयाँ मूल्य बराबरको पटाका बरामद गरेर काठमाडौं जिल्ला प्रशासन कार्यालय, चन्द्रागिरी नगरपालिका र स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको जानकारी दिए।
प्रहरीले अनुसन्धानका क्रममा बस चालक कञ्चनपुरका ३० वर्षीय नविन जोशीलाई पक्राउ गरेको छ। यस्तै, शुक्रवार नै रौतहटको गौरबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७११४ नम्बरको बसमा चेकका क्रममा समेत पटाका फेला परेको छ।
थानकोट प्रहरीले गरेको चेकमा आठ हजार ४०० थान खुर्सानी पटाका, ८० थान गमला पटाका, १०० थान वुलेट पटाका, १९० थान रकेट पटाका बरामद गरेको हो। प्रहरीले उक्त पटकासहित रौतहटका पिन्टु जैसवाललाई पक्राउ गरेको छ।
दुवै घटनामा पक्राउ परेकालाई मुलुकी अपराध संहिता, २०७४ अनुसार विष्पोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
४० लाख नगदसहित एक पक्राउ
नेपाल प्रहरीले स्रोत नखुलेको ४० लाख रुपैयाँ नगदसहित एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गामा चेकका क्रममा स्रोत नखुलेको ४० लाख नगदसहित पश्चिम नवलपरासीका ४० वर्षीय व्यास गुप्तालाई शुक्रवार बिहान पक्राउ गरेको हो।
प्रभागका प्रमुख, प्रहरी निरीक्षक हेमन्त विक्रम थापाले बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको बसमा कम्मरपेटीमा लुकाएर ल्याएको अवस्थामा गुप्तालाई पक्राउ गरिएको जानकारी दिए।
गुप्ताले एक लाख दरका ४० थान रकम झोला र कम्मरपेटीमा ल्याएको अवस्थामा पक्राउ गरिएको हो। यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।